एमाले फुट्ने संभावना बढ्यो

Enepal Patra Pvt. Ltd. , ३९५  पटक हेरिएको

काठमाडौं २९ चैत । सत्तारुढ एमालेका अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल समूह आ–आफ्नो संगठनात्मक गतिविधिमा समय खर्चिन थालेपछि पार्टी फुटको जोखिममा पर्दै गएको छ । पार्टी एकताकै पक्षमा रहेको दाबी गर्दै दुवै समूह आ–आफ्ना निर्णयहरूमा अडिग देखिनुले एमालेभित्र तत्काल मिलनविन्दु भेटिने संकेत देखिदैँन ।

पार्टी अध्यक्ष ओली एमालेको पूर्ववत अवस्थामा फर्किन नचाहनु, पार्टीको सम्पूर्ण अधिकार आफूमा निहित गर्नु, असन्तुष्ट नेताहरूलाई पार्टीबाट निलम्बन गर्नु लगायतका गतिविधिले संस्थापन र इतर पक्षको दूरी झनै बढाएको छ ।

त्यसैको बहानामा नेपाल–खनाल समूह दुई महिने पार्टी सुदृढीकरण अभियान थाल्दै ओलीबाट अलग हुन चाहेको संकेत स्पष्ट पार्दै गएको देखिन्छ । एक साता अघि मात्र संस्थापन पक्षले नेपालसहित चार नेतालाई गरेको कारबाहीबाट रुष्ट बनेका माधवकुमार नेपाल ओलीको दास हुन नसक्ने तर संगठित भएर विरोध गर्ने बताउनुहुन्छ ।

पार्टी एकता गम्भीर संकटमा पारेको भन्दै दुवै समूह एक–अर्काप्रति दोषारोपणमा व्यस्त छन् । ओलीलाई एक्लो बनाउन नसक्दा नेपाल समूह एमाले विभाजनको प्रयासमा रहेको ओली पक्षीय एमाले नेता कर्णबहादुर थापाको आरोप छ ।

यता, राजनीतिक विश्लेषक आनन्दराम पोखरेल आफ्नो राजनीतिक भविष्य सुरक्षित बनाउन नेताहरू आन्तरिक द्वन्द्वमा फस्नुले तत्काल पार्टीमा मिलनविन्दू भेटिने संभावना टाढिँदै गएको टिप्पणी गर्नुहुन्छ । प्राविधिक र ऐनका कारणले मात्र पार्टी फुट्न रोकिएको उहाँको तर्क छ ।

पार्टीको सुदृढ एकता र विधानसम्मत सञ्चालनका लागि एक जुटको प्रयासभन्दा बढी एक अर्कालाई खुइल्याउने सोच बढ्दै जाँदा एमालेभित्रको संकटले सहजै निकाश पाउने सम्भावना कम देखिन्छ ।

प्रकाशित मिति: २०२१-०४-११ , समय : ०५:४५:१४ , ४ वर्ष अगाडि