Enepal Patra Pvt. Ltd. , ६२१ पटक हेरिएको
विराटनगर, २६ चैत । छैटौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजकले खेल तालिका सार्वजनिक गरेको हो ।
प्रतियोगिताको उद्घाटन खेल आज हुँदै छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गने तय भएको छ । प्रदेश राजधानी विराटनगरको सहिद रङ्गशालामा हुने उद्घाटन खेलमा विराटनगर– ११ र सिक्किम युनाइटेट फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
बिहीबार देखि आगामी वैशाख ४ गतेसम्म हुने प्रतियोगितामा नेपाली र विदेशी गरेर १० टिमले सहभागिता जनाउने पक्का भएको आयोजक समितिका संयोजक मनोजविक्रम शाहले जानकारी दिए । जसमा नेपाली सात र विदेशी तीनवटा टिम छन् ।
नेपाली टिममा विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको (एपीएफ)का साथै विराटनगर– ११, मनाङ मर्स्याङ्दी, मछिन्द्र क्लब, गोर्खा ब्वाइज क्लब, सङ्कटा ब्वाइज स्पोर्टिङ क्लब रहेका छन् । विदेशी टिममा भारतको सिक्किम युनाइटेट फुटबल क्लब, पञ्जाब पुलिस तथा अफ्रिकन रुट्स एशोसिएसन क्यामरुम छन् ।
यस वर्ष पुरस्कार राशि बढाएर १५ लाख १५ हजार रुपैयाँ पुर्याइएको छ । प्रतियोगिताका विजेताले १५ लाख १५ रुपैयाँ र ट्रफी तथा उपविजेताले सात लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार पाउने जानकारी वानियाले दिए । यसअघि २०७४ सालमा सम्पन्न प्रतियोगितामा विजेतालाई १२ लाख रुपैयाँ प्रदान गरिएको थियो । तर यसवर्ष तीन लाख १५ हजार रुपैयाँ बढाइएको हो ।
प्रतियोगितामा विभिन्न सातवटा विधामध्ये उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, व्यवस्थापक, मिड फिल्डर, डिफेन्स, गोलकर्ता र टिमले समान नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने जानकारी वानियाले दिए । त्योबाहेक प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिइने छ ।
प्रतियोगितामा सहभागी टिमलाई सुविधावापत प्रि–क्वाटर खेल्दै गर्दा ३० हजार, क्वाटरफाइनलमा ५० हजार र सेमिफाइनलमा ७५ हजार रुपैयाँ प्रदान गरिने संयोजक शाहले जानकारी दिए ।
प्रकाशित मिति: २०२१-०४-०८ , समय : ०८:४०:१२ , ४ वर्ष अगाडि