Enepal Patra Pvt. Ltd. , ९७२ पटक हेरिएको
काठमाडौं, मङ्सिर २९ गते । नेपाली काँग्रेसले सरकारविरुद्ध केन्द्रित हुँदै सोमबार देशभर विरोधसभा आयोजना गरेको छ ।सरकारका काम कारवाही जनहितमा नभएकाे, भ्रष्ट्राचार बढेकाे आरोप लगाउँदै सो पार्टीले देशभर विरोधसभा आयोजना गरेको हो । सो पार्टीले राजधानी काठमाडौंलगायत देशका अन्य भागमा पनि विरोधसभा आयोजना गरेको छ । पार्टीका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले देशका विभिन्न भागमा पुगेर विरोध प्रदर्शनको नेतृत्व सम्हाल्नुभएको थियो ।
यसैबीच, तनहुँमा आयोजित विरोधसभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीनेन्द्र रिजालले नीति र निमम मिचेर वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेतालाई गिरफ्तार गर्न लगाएको आरोप लगाउनुभयो । अधिनायकवादी चरित्र भएकोले वरिष्ठ नेतामाथि दुर्व्यवहार भएको उहाँको भनाइ थियो । ‘लोकतन्त्र रक्षाको लागि तनहुँका जनताले आन्दोलन गर्नुभयो त्यसको लागि तनहुँवासीलाई बधाई दिन चाहन्छु ’रिजालले भन्नुभयो ।
यस्तै, मास्क र भौतिक दूरी अनिवार्य गर्दै काँग्रेस रुपन्देहीले सरकारविरुद्ध प्रदर्शन गरेको हो । भैरहवाको बुद्धचोकमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै काँग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले महंगी बढेको, भ्रष्टाचारको अन्त्य र सुशासन कायम हुन नसकेको, कोरोना भाइरसको रोकथाम र उपचारमा प्रभावकारी काम गर्न नसकेको र आर्थिक समृद्धिको एजेण्डाबाट सरकार विचलित भएको आरोप लगाउनुभयो ।
त्यस्तै, नेपाली काँग्रेस महोत्तरीले सरकार विरुद्ध सदरमुकाम जलेश्वरमा वृहत प्रदर्शन गरेको छ । सरकार विरुद्ध लक्षित सो प्रदर्शनमा भ्रष्टाचार बन्द गर, सीमा नाका खुला गर लगायतका नाराबाजी समेत लगाइएको थियो ।
कोणसभामा पूर्व सांसद रामचन्द्र तिवारीले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्नुहुँदै सरकारको राजिनामाको माग गर्नुभयो । जिल्लामा लामो समयपछि नेपाली काँग्रेसले जुलुस प्रदर्शन गरेको कारण हजारौं नेता तथा कार्यकर्ताहरुले उपस्थिति देखाएका थिए ।
प्रकाशित मिति: २०२०-१२-१४ , समय : १९:४२:३२ , ४ वर्ष अगाडि