Enepal Patra Pvt. Ltd. , ६५९ पटक हेरिएको
वीरगञ्ज, २२ मङ्सिर । केही वर्षयता पर्सा बारालगायत तराईका जिल्लामा किसानले ‘कम्बाइण्ड हार्वेष्टर मेशिन’ लगाएर धान गहुँ काटेर खेतमै चुट्ने तथा परालमा आगो लगाउने प्रवृत्तिका कारण जमीनको उर्वराशक्ति नष्ट भई उत्पादन क्षमतामा ह्रास आउन थालेको छ ।
किसानले मजदूर नपाउनु, समयको बचत हुन्छ भनेर कम्बाइण्ड हार्वेष्टर मेशिनको व्यापक प्रयोग गरेर धान गहुँ काट्ने तथा खेतमै पराल छाडी त्यसमा आगो लगाउने गरेकाले वातावरणमा प्रदूषण फैलिनु, माटोको उर्वराशक्ति नष्ट हुनु तथा माटोमा रहेको चिस्यानसमेत नष्ट भएर गएपछि अन्य बालीसमेत लगाउन समस्या हुने गरेको कृषि औजार अनुसन्धान केन्द्रले जनाएको छ ।
वरिष्ठ वैज्ञानिक तथा केन्द्र प्रमुख सचीनकुमार मिश्रले भन्नुभयो, “तराईका जिल्लामा विगत पाँच÷छ वर्षदेखि किसानले धान, गहुँलगायतका बाली काट्दा कम्पाइण्ड हार्वेष्टर मेसिन खेतमै लग्ने गरेको र खेतमै धान, गहुँ चुट्ने र खेतमै परालमा आगो लगाउने गरेकाले यसले गर्दा माटोको उर्वराशक्ति छिन्न हुनु, उर्वराशक्ति बढाउने जीवाणु नष्ट हुनु, माटोमा रहेको चिस्यानसमेत नष्ट भएर जाने भएकाले यसको प्रभाव अर्कोपटक लगाउने बालीमा पर्ने गरेको छ ।”
नेपालमा पहिलोपटक कम्बाइण्ड हार्वेष्टर मेशिनको प्रयोग पर्साको कौवावनकटैयाका किसान काशिम अन्सारीले गर्नुभएको थियो । सो मेशिनको प्रयोग गरी धान र गहुँ बाली काट्दा समय र पैसाको समेत बचत हुने भएपछि यसको देखासिकी गरी अन्य किसानले पनि यो मेशिनको प्रयोग गर्न थालेका छन् । पर्सा र बारामा यो मेशिनको सङ्ख्या ३०० को हाराहारीमा छ ।
धान गहुँको अवशेष व्यवस्थापन गर्न किसानले राउण्ड बेलर मेशिनको प्रयोग गरी परालको बण्डल, गाईबस्तुलाई खुवाउन सकिने, पेपर मिललाई बेचेर आर्थिक लाभ लिन सकिने, भुस बनाउन सकिने र यसलाई बेचेर थप आर्थिक लाभ लिन सकिन्छ । पर्सा, बारामा ६० प्रतिशत किसानले खेतमै पराल जलाउने गरेकाले सरकारले धान, गहुँको अवशेष व्यवस्थापनमा ध्यान दिनुपर्ने माग गरिएको छ ।
सो कार्यालयले गरेको अनुसन्धानबाट धानभन्दा गहुँ काट्ने बेलरको प्रभावकारिता बढी फाइदाजनक रहेको देखिएको छ । सो कार्यालयले कसरी धान, गहुँको अवशेषको व्यवस्थापन गर्न सकिन्छ । सोबारेमा अध्ययन गरिरहेको बताइएको छ । सो कार्यालयले मेशिनबाट धान, गहुँ, उखुलगायतका बाली रोप्ने तथा काट्ने यन्त्रसमेत प्रयोगमा ल्याई सकिएको छ ।
भारतको सर्वोच्च अदालतले किसानले पराल खेतमा नजलाउनमा रोक लगाए जस्तै नेपाल सरकारले पनि आफ्ना किसानलाई खेतमा पराल जलाउन रोक लगाउनु तथा यसको व्यवस्थापनको व्यवस्था मिलाउनुपर्ने माग पर्साका किसानको छ ।
प्रकाशित मिति: २०२०-१२-०७ , समय : १५:१५:५२ , ४ वर्ष अगाडि