लेटाङमा ५ शैयाको कोभिड अस्पताल

Enepal Patra Pvt. Ltd. , १९४४  पटक हेरिएको

लेटाङ(मोरङ),१५ मङ्सिर । उत्तरी मोरङको लेटाङमा सोमबार देखि कोभिड अस्पताल सञ्चालनमा आएको छ ।
सङ्घीय सरकारले देशभरका ३९६ स्थानीय तहमा न्युनतम ५ सैयाको अस्पताल निर्माण गर्ने कार्यक्रम अन्तरगत आज लेटाङमा ५ सैंयाको अस्पताल सञ्चालनमा आएको हो ।

कोभिडका बिरामीलाई हौसला आवश्यक – सांसद खतिवडा

अस्पतालको उद्घाटन गर्दै मोरङ १ का सङ्घीय सांसद घनश्याम खतिवडाले कोभिडका बिरामीलाई प्रसस्त हौसला आवश्यक पर्ने बताउनु भयो । आफै कोरोना भाइरसलाई जित्न सफल हुनु भएका सांसद खतिवडाले सामूहिक प्रयासबाट मात्र कोरोनालाई जित्न सकिने उल्लेख गर्नुभयो । सांसद खतिवडाले लेटाङ नगर सखुवा फूल्ने देखि गुराँस फूल्ने सम्मको भूगोल रहेको बताउनु भयो । उहाँले लेटाङ पूर्वको टुक्रे बनलाई ब्यवस्थित गर्न सके लेटाङको भाग्य चम्कने उहाँको भनाई थियो । लेटाङ नगरलाई सामूहिक प्रयासबाट मात्र देशको नमूना नगर बनाउन सकिने बताउँदै सांसद खतिवडाले प्रविधिको उपयोग गर्दै समृद्ध नगर निर्माणका लागि अझै एक पटक सर्बपक्षीय संवाद आवश्यक रहेको उल्लेख गर्नुभयो ।

खाली पर्ती जग्गा खोजेर अस्पताल बनाऔं– प्रदेश सांसद घिमिरे


प्रदेश सांसद उपेन्द्रप्रसाद घिमिरेले कोभिड अस्पताल निर्माण भए पनि लेटाङबासीले अस्पतालको सेवा लिनु नपरोस भन्नुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा लेटाङले अझै पनि उल्लेख्य प्गति गर्न नसकेको बताउँदै एकै दिन स्थापना भएका लेटाङ र मंगलबारेका प्राथमिक स्वास्थ्य केन्द्रमा धेरै भिन्नता रहेको बताउनु भयो । उहाँले जग्गा अभावै कारण अस्पतालको प्रगति नभएको हो भने खाली पर्ती जग्गा खोजेर भए पनि प्राथमिक स्वास्थ्य केन्द्र सुविधा सम्पन्न बनाउनु पर्नेमा जोड दिनु भयो ।

आधारभूत स्वास्थ्य सेवा दिन  नगरपालिका सम्बेदनशील छ – नगर प्रमुख राई


नगर प्रमुख शङ्कर राईले अस्पताल निर्माण भएर पनि चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध भएनन् भने त्यसको अर्थ नरहने बताउनु भयो । उहाँले सङ्घीय र प्रदेश सांसदलाई अस्पतालसँगै डाक्टर र प्रविधियुक्त स्वास्थ्य सेवा उपलब्ध गराउने अभियानमा नगरलाई सहयोग गर्न आग्रह गर्नुभयो । नगर प्रमुख राईले कोभिडका कारण लेटाङ नगर शोकमा रहेको बताउँदै स्वास्थ्य सजगता अपनाउन नगरवासीमा अपिल गर्नुभयो । उहाँले नगरको स्रोत साधनले धान्ने सम्मको सबै खाले सेवा प्रदान गर्न नगर तयार रहेको बताउनु भयो । राईले भन्नुभयो–३ सय बढीको स्वाव सङ्कलन गरी पिसीआर टेष्ट गरायौं । क्वारेन्टिनलाई ब्यवस्थित रुपमा सञ्चालन ग¥यौं । २ करोड १५ लाख प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण ठेक्का लागि सकेको उल्लेख गर्दै उहाँले नगरवासीलाई आधारभूत स्वास्थ्य सेवा दिने विषयमा नगर अत्यन्तै सम्वेदनशील रहेको बताउनु भयो ।
उप प्रमुख कृष्णकुमारी पोख्रेलले स्वास्थ्य बीमा सुरु भएसँगै प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढेको बताउनु भयो ।
अस्पताल सञ्चालक समितिका सदस्य इन्दु चौधरीले अस्पताल निर्माण भए पनि पूर्वाधार कमजोर भएको बताउनु भयो । अस्पताललाई सौन्दर्यकरण गर्न आवश्यक भएको बताउँदै उहाँले सुरक्षका लागि घेरावारा र फूलबारी बनाउनु पर्नेमा जोड दिनु भयो । वडा नं.३ का वडाध्यक्ष एवं अस्पताल सञ्चालन समितिका अध्यक्ष देवराज चाम्लिङले गुणस्तरीय ल्याव सेवाका लागि लेटाङ प्राथमिक स्वास्थ्य केन्द्र अब्बल भएको बताउनु भयो । उहाँले एक महिना भित्र थाइराइडको परीक्षणको ब्यवस्था मिलाइने जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२०-११-३० , समय : १८:२५:२७ , ४ वर्ष अगाडि