Enepal Patra Pvt. Ltd. , १२०२ पटक हेरिएको
कानेपोखरी(मोरङ), १३ असार । बैदेशिक रोजगारमा गएको छोराको दुर्घटनामा परेर उतै मृत्यु भएको खबर सुन्दा कुन बाबुआमाको मन भक्कानिदैन र ? मृत्यु आफैमा पीडादायी हुन्छ । तर,मृत्यु भएको छोराको शव कुर्दा कुर्दै ११८ दिनसम्म शव नआउँदा कसको मनले मान्छ होला । मोरङको कानेपोखरी–२ दोमुखाका ६७ वर्षीय नारानप्रसाद चम्लागाई यतिबेला छोराको श्वास पनि आएन, शव पनि आएन भन्दै भारी मन बनाएर छोराको काज किरियामा हुनुहुन्छ ।
चम्लागाईका २७ वर्षीय माइला छोरा कृष्ण, पछिल्लो पटक गत पुस २७ गते साउदीअरब जानु भएको थियो । कमाई राम्रो थियो । आउँदै जाँदै गरेका कृष्ण जुन सपना बोकेर साउदीअरव जानु भएको थियो । उहाँको सपना त पुरा भएन नै । बुढेसकालमा सहारा दिने छोरो नै गुमेपछि उहाँको सपना पनि पानीको फोका जसरी नै फुटेको छ । उहाँ साउदीको हायलस्थित डानिया फुड कम्पनीमा कार्यरत हुनुहुन्थ्यो ।
कृष्णको गत फागुन १३ गते दुर्घटनामा परी मृत्यु भयो । हायल शहरमा चलेको भीषण आँधीले कार पल्टाउँदा कृष्ण लगायत धेरै जना कामदारको ज्यान गयो । तर,फागुन १३ गते मृत्यु भएको छोराको न श्वास आयो, न लाश आयो । साउदी सरकारले दिने क्षतिपुर्तिको कुनै टुङ्गो छैन् । शव आउँछ, भनेर बाटो कुर्दा कुर्दै आँखाका आँशु सकिसकेका थिए । कहिल्यै नसोचेको खबर आएपछि चम्लागाई परिवार मात्र होइन । गाउँ नै स्तब्ध बनेको छ । साउदीमा लकडाउन हुनु भन्दा १ महिना अघिको घटना । लक डाउन भइकन पनि धेरैका शव आएको समाचार टिभीमा हेरिरहेको छु । तर, मेरो छोराको अनुहार हेर्न पाइन ,भाव विह्वल हुँदै नारानले भन्नुभयो ।
छोराको शव उतै अन्त्येष्ठि गरेको फोटो र भिडियो हेरेपछि चम्लागाईले असार ८ गते देखि नै काज किरिया सुरु गर्नु भएको छ । उहाँले भन्नुभयो–‘साउदीअरवमा पनि नेपाली दूतावास छ । नेपालमा पनि साउदीअरवको दूतावास छ । मेरो छोरो गैरकानूनी रुपमा बसेको पनि होइन । तर,शव पठाउन ढिला ग¥यो ।
प्रकाशित मिति: २०२०-०६-२७ , समय : २१:२२:३६ , ४ वर्ष अगाडि