गणतन्त्रको उज्यालो यात्रा

प्रशान्त निराैला , ९१  पटक हेरिएको

नेपालले २४० वर्ष लामो राजतन्त्र अन्त्य गरी गणतन्त्रको मार्ग समातेपछि देशको समृद्धि र विकासले गति लिएको छ। जनताले आफैंले चुनेका प्रतिनिधिमार्फत शासनसत्ता सञ्चालन गर्ने अवसर पाएपछि नीति निर्माणदेखि विकास निर्माणसम्म नागरिकको प्रत्यक्ष सहभागिता देख्न सकिन्छ।

अहिले गाउँगाउँमा करोडौँका विकास योजनाहरू कार्यान्वयनमा छन्, जुन पहिला सोंच्नसमेत कठिन थियो। कुनै समय वार्षिक २० हजार रुपैयाँ मात्र बजेट आउने ठाउँमा अहिले सडक, पुल, विद्यालय, स्वास्थ्य चौकी, खानेपानी तथा सिँचाइका सुविधा विस्तार भइरहेका छन्। जनप्रतिनिधिहरू जनताको आवश्यकताअनुसार योजना बनाउन सक्षम भएका छन्, जसले विकासलाई समावेशी बनाएको छ।

गणतन्त्रपछि शिक्षामा पनि महत्वपूर्ण उपलब्धिहरू हासिल भएका छन्। गाउँगाउँमा माध्यमिक विद्यालयहरू स्थापना भई कक्षा १२  अध्ययनको अवसर पुगेको छ भने ठाउँठाउँमा कलेजहरु खुलेका छन्। स्वास्थ्य सेवा विस्तारसँगै आधारभूत स्वास्थ्य सुविधाहरू सर्वसुलभ भएका छन्। गाउँमा यातायात सुविधा पुगेपछि व्यापार तथा रोजगारीका अवसरहरू पनि बढेका छन्। पुराना बजारहरू प्रतिस्पर्धात्मक रूपमा कमजोर बन्दै गए पनि नयाँ व्यापारिक केन्द्रहरू विकसित हुँदैछन्, जसले आर्थिक गतिशीलता ल्याएको छ।

राजतन्त्रकालमा शासनसत्ता सीमित व्यक्तिहरूको हातमा थियो, तर गणतन्त्रमा जनता नै नीति निर्माणकर्ता बनेका छन्। आफ्नो मताधिकार प्रयोग गरेर आफूलाई प्रतिनिधित्व गर्ने नेताहरूलाई जनताले चुन्ने अवसर पाएका छन्। सही नेतृत्व छान्ने, काम गर्नेलाई पुरस्कृत गर्ने र काम नगर्नेलाई विस्थापित गर्ने अधिकार गणतन्त्रले सुनिश्चित गरेको छ।

तर, विकासको गतिलाई अवरुद्ध पार्ने एक ठूलो चुनौती भनेको एकअर्काको योगदानलाई स्वीकार गर्न नसक्ने प्रवृत्ति हो। गणतन्त्रको भावना सहकार्य, सहअस्तित्व र सामूहिक विकासमा आधारित हुन्छ, तर कतिपय अवस्थामा राजनीतिक स्वार्थ, पूर्वाग्रह र व्यक्तिवादी सोचले सकारात्मक कार्यहरूलाई समेत विवादमा तान्ने प्रवृत्ति देखिन्छ। जसले गर्दा कतिपय राम्रा योजनाहरू कार्यान्वयनको क्रममा अवरोध बेहोर्नु परिरहेको छ।

त्यसैले, गणतन्त्रलाई अझ प्रभावकारी बनाउने हो भने सबै पक्षले आफ्नो जिम्मेवारी बुझेका मात्र होइन, अरूको योगदानलाई पनि स्वीकार गर्नुपर्ने आवश्यकता छ। स्वस्थ आलोचना गर्नुपर्छ, तर निराधार आलोचनाले निरुत्साहित पार्नु हुँदैन। सहकार्य, सहमति र समावेशी सोचलाई आत्मसात् गर्दै अघि बढ्न सके मात्र गणतन्त्रको सही अर्थमा सफल प्रयोग हुनेछ र नेपालले समृद्धिको गन्तव्य हासिल गर्नेछ।

2081-11-26

प्रकाशित मिति: २०२५-०३-१० , समय : १४:५८:४६ , १ दिन अगाडि