लेटाङ रन १०के सम्पन्नः बजार सौन्दर्यकरण र खेलकुद प्रवद्र्धनमा जोड

ईनेपालपत्र , ३१  पटक हेरिएको

लेटाङ, १ माघ । मोरङको लेटाङमा आयोजना गरिएको ‘लेटाङ रन १०के’ म्याराथन दौड प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। लेटाङ बजारलाई सौन्दर्यकरण गर्ने उद्देश्यसहित आयोजित यस कार्यक्रममा मुख्य सहयोगीका रूपमा लेटाङ घर भई हाल रोजगारीका लागि बेलायतमा रहेका सन्तोष राईले महत्वपूर्ण भूमिका निभाएका थिए।

प्रतियोगितामा खुल्ला तर्फ नागेश्वर अहिरले प्रथम स्थान हासिल गर्दै नगद ३५ हजार रुपैयाँ र मेडल प्राप्त गरे। दोस्रो स्थानमा संजय श्रेष्ठ र तेस्रो स्थानमा पुरण राई रहेका थिए, जसले क्रमशः नगद २० हजार र १० हजारसहित मेडल जिते।
महिला तर्फ सुमित्रा चौधरीले प्रथम स्थान हासिल गरी नगद १० हजार र मेडल प्राप्त गरिन्। दोस्रो स्थानमा इन्द्रकला लिम्बु र तेस्रो स्थानमा पुष्पा शेर्मा रहे, जसले क्रमशः ६ हजार र ४ हजार नगद पुरस्कारसहित मेडल प्राप्त गरे।

भेटरान तर्फ विजय कुमार राई प्रथम, अभिनारायण अधिकारी दोस्रो, र राजकुमार तामाङ तेस्रो स्थानमा रहे। उनीहरूले क्रमशः ७ हजार, ५ हजार, र ४ हजार नगद पुरस्कारसहित मेडल जिते।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले म्याराथनजस्ता खेलकुद गतिविधि स्वस्थ जीवनशैली र सकारात्मक सोचका लागि महत्त्वपूर्ण रहेको बताए। उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै भविष्यमा यस्ता कार्यक्रमलाई थप सहयोग गर्ने प्रतिबद्धता जनाए।
विशिष्ट अतिथि कोशी प्रदेशका सांसद खड्ग बहादुर बस्नेतले लेटाङको विकास र युवाहरूको प्रोत्साहनमा खेलकुद आयोजनाको महत्त्वपूर्ण योगदान रहेको औंल्याए। उनले लेटाङलाई समृद्ध बनाउन आफ्नो तर्फबाट पूर्ण सहयोग रहने आश्वासन दिए।

अन्य अतिथि लेटाङ नगर प्रमुख भूपेन्द्र कुमार लावतीले प्रतियोगितालाई थप व्यवस्थित बनाउन नगरपालिकाले ध्यान दिने बताए।

वडा नं. ३ का वडा अध्यक्ष डम्बर बहादुर राईले युवालाई कुलतबाट मुक्त गरी खेलकुदप्रति आकर्षित गर्न कार्यक्रमले भूमिका खेलेको उल्लेख गरे।

कार्यक्रमका अध्यक्ष किरण राईले प्रतियोगिताको सफलताका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए। टोल विकास संस्थाकी सचिव मनकुमारी राईले कार्यक्रम सञ्चालन गरिन्।

प्रकाशित मिति: २०२५-०१-१४ , समय : १४:५१:४८ , ४ दिन अगाडि