विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई शिक्षक कुटपिटको आरोप, शिक्षक संघद्वारा कारबाहीको माग

ईनेपालपत्र , ४९  पटक हेरिएको

लेटाङ, पुस २१ । लेटाङ नगरपालिका वडा नं. ४ स्थित शान्ति भगवती माविका शिक्षकहरूले आयोजित बनभोज कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ४ का अध्यक्ष रामकुमार श्रेष्ठ र समितिका सदस्य राजन पौडेल (अरुण)ले शिक्षक विजय सहनीमाथि कुटपिट गरेको आरोप लागेको छ।
पुस १५ गते ल्होसारको अवसरमा उर्लाबारीको बेतनी सिमसारमा विद्यालयका शिक्षकहरूले बनभोज आयोजना गरेका थिए। उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र अन्य पदाधिकारी पनि सहभागी भएका थिए।
सामान्य कुराकानीकै क्रममा अध्यक्ष श्रेष्ठले समितिका सदस्य राजन पौडेललाई बोलाएर आफूलाई कुटपिट गर्न लगाएको सहनीको आरोप छ ।शिक्षक सहनीले आफूले “के भयो सर?“ भनेर सोध्दा यो घटना भएको दाबी शिक्षकको छ ।
तर, अध्यक्ष श्रेष्ठले भने शिक्षक सहनीले जथाभावी र अनियन्त्रित रूपमा बोल्दै ब्यवहार गरेकोले उनलाई सम्झाउने प्रयास मात्रै गरेको र कुनै हातपात नगरेको बताउनुभएको छ। उहाँले यो विवाद विद्यालयमै छलफल गरी समाधान गर्न सकिने बताउनुभयो । यद्यपि, शिक्षक सहनी विद्यालयमा छलफलका लागि बोलाउँदा अहिलेसम्म उपस्थित नभएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ।
यसैबीच, शिक्षक संघ लेटाङले विज्ञप्ति जारी गर्दै शिक्षकमाथि भएको अभद्र व्यवहारप्रति खेद व्यक्त गरेको छ। संघले विद्यालयमा शिक्षकले कक्षाकोठासम्म पुगेर पठनपाठन गराउन सक्ने वातावरण सुनिश्चित गर्न माग गरेको छ। दोषीलाई छानबिन गरी कारबाही नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत संघले दिएको छ।

प्रकाशित मिति: २०२५-०१-०५ , समय : १४:१७:२४ , २ दिन अगाडि