प्याब्सन मोरङमा बस्नेत बिजयी

ईनेपालपत्र , १४  पटक हेरिएको

मोरङ, २० पुस निजी तथा आवासिय विद्यालय नेपाल(प्याब्सन) मोरङको अध्यक्षमा जगत बस्नेत निर्वाचित भएका छन् । १६ औं अधिवेशनबाट निकटम प्रतिद्वन्द्वी सुरेन्द्र सुवेदीलाई १७ मत अन्तरले पराजित गर्दै बस्नेत अध्यक्षमा निर्वाचित भएका हुन् । बस्नेतले १ सय १० मत प्राप्त गर्दा सुवेदीले ९३ मत प्राप्त गरेका हुन् ।

त्यस्तै कोषाध्यक्ष पदमा मणिराज भट्टराई र नगेन्द्र प्रसाद ढकाल विच दुबैतर्फ १०१ मत बराबरी भएपछि गोलाप्रथामा मणिराज भट्टराई विजयी घोषित भए । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा मोहन बुढाथोकी, उपाध्यक्षमा विष्णु डंगोल, सचिवमा देवी सिटौला, सह सचिवमा दिपेन्द्र राई र  सह कोषाध्यक्ष पदमा केदार पौडेल निर्वाचित भएका छन् ।

सदस्यका लागि भएको निर्वाचनबाट  महेन्द्र मण्डल, नन्दलाल मण्डल, तेज बहादुर खत्री, रुद्र थापा, इन्द्र कुमार राई, हिरा बहादुर मगर र तिलक राई निर्वाचित भएका हुन् । निर्वाचित अध्यक्ष बस्नेत चार कार्यकाल सदस्य, दुई कार्यकाल सह कोषाध्यक्ष, एक कार्यकाल कोषाध्यक्ष र एक कार्यकाल सचिब हुँदै यस पटक अध्यक्षमा निर्वाचित भएका हुन् ।

“प्याब्सनमा आफ्नो लामो अनुभवलाई प्रयोग गर्दै सम्पुर्ण पुराना कार्यक्रमलाई संस्थागत गर्दै थप नयाँ कार्यक्रमहरु अन्तर्गत शिक्षक कर्मचारीको क्षमता अभिवृद्धि र विद्यालयको व्यवस्थापन सुधार” गर्ने योजना रहेको अध्यक्ष बस्नेतले बताए । उनका अनुसार विद्यार्थी संख्या, विद्यालयको वर्ग, भौगोलिक अवस्थाको आधारमा कार्यक्रमहरु थप वैज्ञानिक बनाउदै लैजाने बताए । शुक्रबार बिराटनगर स्थित प्याब्सन मोरङको निर्वाचन भएको हो ।

मोरङ प्याब्सनमा हाल २ सय १० जना सदस्य छन् । निर्वाचनमा २ सय ६ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०१-०४ , समय : १७:५८:५१ , २ दिन अगाडि