इनेपालपत्र , ५२ पटक हेरिएको
मोरङ, १५ मोरङ। मोरङको बेलबारीमा स्थानीय उपभोक्ताले १७९ क्युफिट काठ नियन्त्रणमा लिई सेक्टर वन कार्यालय, बेलबारीलाई हस्तान्तरण गरेका छन्। उपभोक्ताहरूले ट्याक्टरमा लोड गरी अन्यन्त्र लैजान तयारी गरिरहेका अवस्थामा उक्त काठ नियन्त्रणमा लिइएको हो।
बेलबारी–१० स्थित सृजना सामुदायिक वन उपभोक्ता समूहबाट कटानका लागि भन्दै बेलबारी–८ को देवी काष्ठ उद्योगमा पुर्याइएको काठ बाहुनीतर्फ लैजाने तयारीका क्रममा सव-डिभिजन वन कार्यालयको टोलीले उक्त काठ नियन्त्रणमा लिएको जानकारी दिएको छ।
सामुदायिक वनबाट उपभोक्ताहरूले खरिद गरेको काठ सूचीकृत स्थान बाहेक अन्यन्त्र लैजान अनुमति नहुने नियम छ। साेमबार बेलबारीबाट बाहुनी लैजान खोजिएको देखिएपछि स्थानीयहरूले विरोध गर्दै वन कार्यालयलाई खबर गरेका थिए।
सव-डिभिजन वन कार्यालय, बेलबारीका प्रमुख दिपेश मिश्रका अनुसार नियन्त्रणमा लिइएको काठबारे अनुसन्धान जारी छ।
उक्त काठ उपभोक्ता समितिले शोभा भुर्तेल र लोकबहादुर लिम्बूको नाममा बिक्री गरेको थियो। स्थानीयले उपभोक्ता समिति र काठ व्यवसायी मिलेर तस्करी प्रयास गरेको आरोप लगाएका छन्।
वन उपभोक्ता समिति अध्यक्ष देउमान लिम्बुले उपभोक्ताले खरिद गरेको काठ अन्यन्त्र लैजाँदै गर्दा वन कार्यालयको टोलीले समातेको बताए। उनले समितिको मिलेमतो नभएको दाबी गर्दै, उपभोक्ताहरूले सस्तोमा काठ खरिद गरी बाहिर बिक्री गर्ने सम्भावना रहेको बताए।
प्रकाशित मिति: २०२४-१२-३० , समय : १९:५६:०२ , ३ दिन अगाडि