कोशी प्रदेशस्तरीय सार्वजनिक शिक्षा सम्मेलन बिराटनगरमा सम्पन्न

ईनेपालपत्र , १३५  पटक हेरिएको

बिराटनगर, ५ पुस । रुपान्तरणसहितको सार्वजनिक शिक्षा भन्ने मुख्य विषयवस्तुमा केन्द्रित रहि कोशी प्रदेशस्तरीय सार्वजनिक शिक्षा सम्मेलन बिराटनगरमा सम्पन्न भएको छ। शिक्षाका लागि राष्ट्रिय अभियान नेपालद्वारा आयोजित सम्मेलनमा कोशी प्रदेशका सामाजिक विकासमन्त्री माननीय पाँचकर्ण राईको प्रमुख आतिथ्यता रहेको थियो।

उक्त कार्यक्रममा कोशी प्रदेश सभा सदस्य, सामाजिक समिति, प्रदेश राष्ट्रिय योजना आयोगका सदस्यहरू, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, जिल्ला समन्वय समिति मोरङका प्रतिनिधिहरू, प्रदेश र स्थानीय तहका शिक्षा अधिकारीहरू, नागरिक समाजका संघसंस्थाहरू, पत्रकार, शिक्षक, युवा प्रतिनिधि, विद्यार्थी, र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

निशुल्क, गुणस्तरीय र समावेशी शिक्षाका लागि प्रतिबद्धता
कार्यक्रममा सहभागीहरूले निशुल्क, गुणस्तरीय, र समावेशी शिक्षा अझै लागू हुन नसकेकोमा चिन्ता व्यक्त गरेका थिए। पहाडी क्षेत्रका बालबालिका कमजोर आर्थिक अवस्थाका कारण शिक्षाबाट वञ्चित भइरहेका र सरकारले यस विषयमा अझै प्रतिबद्धता पूरा गर्न नसकेको विषय उठान गरियो।

कार्यक्रमलाई सम्बोधन गर्दै माननीय मन्त्री पाँचकर्ण राईले प्रदेशमा निशुल्क शिक्षाको प्रत्याभूति गर्दै सबै बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले प्रदेश शिक्षा ऐन तथा योजना तर्जुमा गर्न सरोकारवालाहरूसँग परामर्श गरिने जानकारी पनि दिनुभयो।

२३ बुँदे घोषणापत्र जारी
सम्मेलनको प्रमुख उपलब्धिको रूपमा सार्वजनिक शिक्षा रुपान्तरणका लागि २३ बुँदे कोशी प्रदेश घोषणापत्र जारी गरिएको छ। यस घोषणापत्रमा निशुल्क र समावेशी शिक्षाको प्रत्याभूतिका लागि विभिन्न नीतिगत र कार्यक्रमगत सिफारिसहरू समावेश गरिएको छ। यो घोषणापत्र प्रदेश सरकार, प्रदेश सभासद, राजनीतिक दल, र स्थानीय सरकारहरूलाई बुझाइने आयोजकले जनाएका छन्।

सहभागिताले थप बलियो बनायो सम्मेलन
शिक्षा र बालबालिकाको क्षेत्रमा कृयाशील संघसंस्थाहरूको सहभागिताले सम्मेलनलाई थप प्रभावकारी बनाएको सहभागीहरूले जनाएका छन्। सम्मेलनका क्रममा प्रस्तुत सुझाव र निचोडहरूले सार्वजनिक शिक्षाको रुपान्तरणमा टेवा पुर्याउने विश्वास लिइएको छ।

यो सम्मेलनले कोशी प्रदेशमा शिक्षाको गुणस्तर र पहुँच सुधार गर्ने दिशा तय गरेको सहभागीहरूको धारणा थियो।

प्रकाशित मिति: २०२४-१२-२० , समय : १७:४५:०३ , १ दिन अगाडि