कुश्मिसेरा–राङ्खानी सडक निर्माणमा चरम लापरबाही

ईनेपालपत्र , ३८  पटक हेरिएको

गलकोट (बागलुङ), १६ कात्तिक । दुई वर्षमा कालोपत्रे सक्नेगरी ठेक्का सम्झौता भएको कुश्मिसेरा–राङ्खानी सडक पाँच वर्ष बितिसक्दा पनि पूरा नभएकामा स्थानीय रुष्ट भएका छन् ।

निर्माण कम्पनीको लापरबाहीले उक्त सडकको काम पूरा नभएको हो । कम्पनीलाई काम पूरा गर्न चौथोपटक अवधि थपिएको भए पनि हाल निर्माण कम्पनी सम्पर्कविहीन भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो ।

जैमिनी नगरपालिकाको मेरुदण्डका रूपमा रहेको कुश्मिसेरा–राङ्खानी–बरेङ सडकमा निर्माण व्यवसायीबाट चरम लापरबाही भएको तथा तिहारपछि काममा नफर्किए ठेक्का रद्दका लागि दबाब दिने चेतावनी उहाँले दिनुभयो ।

पूर्वाधार विकास कार्यालयसँग २०७६ असोजमा दुई वर्षमा कालोपत्रे गर्नेगरी शर्मा क्याराभानसँग ठेक्का सम्झौता भएको थियो । जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई गुल्मीको शान्तिपुरसँग जोड्न २१ किमी सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो ।

निर्माण व्यवसायीलाई अन्तिम पटकलाई आगामी असारसम्म म्याद थपिएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुजन देवकोटाले बताउनुभयो ।

कटिङ, नाली निर्माण तथा पर्खाललगायत काम सम्पन्न भए पनि सडक कालोपत्रे नहुँदा सास्ती भएको हो । “२४ करोड ५८ लाखमा दुई वर्षमा काम पूरा गर्नेगरी ठेक्का सम्झौता भएको थियो”, देवकोटाले भन्नुभयो, “तिहारपछि पुनः पत्र पठाउँछौँ, काममा नफर्किए कारबाहीको प्रक्रिया थालिन्छ ।” रासस

प्रकाशित मिति: २०२४-११-०१ , समय : १०:२७:१५ , २ महिना अगाडि