ईनेपालपत्र , ८० पटक हेरिएको
लेटाङ, (मोरङ)२६ असोज । मोरङ जिल्लाको किर्तिमानमा शिव पन्चायन मन्दिर निर्माणका लागि भूमि पूजन तथा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। लेटाङ नगरपालिका वडा नं. ३ किर्तिमान घर भई हाल विराटचौकमा बस्दै आएका किरण न्यौपानेले आफ्ना स्वर्गीय पिता महेश्वर न्यौपानेको नाममा मन्दिर निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराएपछि न्यौपाने परिवार र स्थानीयवासीको सहकार्यमा मन्दिरको शिलान्यास गरिएको हो।
शिलान्यास कार्यक्रममा लेटाङ नगरपालिका वडा नं. ३ का अध्यक्ष डम्बर राई प्रमुख अतिथिको रूपमा उपस्थित रहे। कार्यक्रममा बोल्दै उनले न्यौपाने परिवारको धार्मिक आस्था र स्थानीय समुदायप्रतिको योगदानको प्रशंसा गर्दै भने, “यो मन्दिर निर्माणले स्थानीयवासीको आस्था केन्द्रको रूपमा विकास हुनेछ। न्यौपाने परिवारले देखाएको परोपकारी भावना उदाहरणीय छ, यसले समाजमा सकारात्मक परिवर्तन ल्याउनेछ।”
वडा सदस्य नरेन्द्र पराजुलीले पनि न्यौपाने परिवारको योगदानको उच्च प्रशंसा गर्दै भने, “मन्दिरको निर्माणले हाम्रो समाजलाई एकताको सन्देश दिनेछ र स्थानीय धर्मप्रेमीहरूलाई पूजापाठ गर्न र आस्था व्यक्त गर्न सहज हुनेछ। यस कार्यका लागि न्यौपाने परिवारलाई धन्यवाद दिन चाहन्छु।”
कार्यक्रममा स्थानीय बुद्धिजीवी, भद्रभलाद्मी, तथा धर्म अनुरागीहरूको उल्लेखनीय उपस्थिति थियो। मन्दिर निर्माण कार्यले किर्तिमान क्षेत्रमा धार्मिक पर्यटनको पनि विकास गर्ने विश्वास लिइएको छ।
प्रकाशित मिति: २०२४-१०-१२ , समय : ०९:४०:१० , ३ महिना अगाडि