ईनेपालपत्र संबाददाता , १७८ पटक हेरिएको
काठमाडौँ, २३ साउन – सरकारले श्वास फेर्ने हावामा समेत कर लगाउने तयारी गरेको आरोप नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले लगाएका छन्।
उनले मंगलबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै यसबारे आफ्नो असन्तुष्टि व्यक्त गरे।सांसद शर्माले भने, “सरकारले खानेपानी र स्वच्छ हावा निःशुल्क रूपमा पाउने अधिकार नागरिकलाई दिनुपर्ने हो तर यहाँ पानीमा पनि करमाथि कर लगाइएको छ।” उनले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा यसबारे आफ्नो धारणा राखेका थिए।
व्यावसायिक प्रयोजनका लागि जमिनमुनिको पानी उपभोग गर्न दस्तुर तिर्नुपर्ने प्रस्तावित व्यवस्थाप्रति आपत्ति जनाउँदै सांसद शर्माले भने, “हरेक क्षेत्रमा दोहोरो-तेहोरो कर लगाउँदा व्यावसायिक वातावरण बिग्रिएको छ।” उनले उद्योगीहरूलाई नाफाको ३० प्रतिशतसम्म कर बुझाउनुपर्ने कानुन स्मरण गराउँदै यो व्यवस्थाले उद्योगीहरूको लागि कठिनाइ सिर्जना गरेको बताए।
सांसद शर्माले जमिनमुनिको पानी औद्योगिक प्रयोजनका लागि निकाल्दा कर लगाउने कानुन फिर्ता लिन सरकारलाई आग्रह गरे।
प्रकाशित मिति: २०२४-०८-०७ , समय : ०६:५१:०३ , ५ महिना अगाडि