Enepal Patra Pvt. Ltd. , ६६८ पटक हेरिएको
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सरकारले ३१ देशका परराष्ट्रमन्त्री र ४० देशका प्रतिष्ठित मिडियालाई आमन्त्रण गरेको थियो । तर चार वटा देशका मात्रै परराष्ट्रमन्त्री आए, ९ वटा मात्रै विदेशी मिडियाका प्रतिनिधि आए । आमन्त्रण गरिएका ३१ देशमध्ये भारत, चीन, जमैका र म्यानमारका परराष्ट्रमन्त्री मात्रै आए । गत बुधबार करिव दुई करोड रूपैंया बजेट खर्च गरी राष्ट्रपतिद्वारा तामझामका साथ उद्घाटन गरियो तर उद्घाटन गरिएको समाचार नेपाली जनतासम्म समेत पुगेन । स्वदेशी अखवारले समेत भित्री पृष्ठमा २ कोलमको समाचार बनाए ।
नेपाल भ्रमण वर्षको सन्दर्भमा सरकारको रबैयाबाट पर्यटन व्यवसायीहरू ज्यादै निराश देखिएका छन् । एक वर्ष अघि सामाजिक सुरक्षा कोष कार्यान्वयन आरम्भ भएको घोषणा गर्दा सरकारले प्रचार प्रसारका क्रममा राजधानी काठमाडौंका कुनै पोल तथा भित्ता बाँकी राखेको थिएन । केही महीना अघि चीन र वंगलादेशका राष्ट्रपति आउँदा पनि प्रचार प्रसारका लागि राजधानीका कुनै पोल र भित्ता बाँकी राखिएन तर यस पटक नेपाल भ्रमण वर्ष २०२० को शुभराम्भ भएको जानकारी सर्वसाधरण जनतासम्म पु¥याउने मामिलामा सरकारले ध्यान नदिएको गुनासो पर्यटन व्यवसायीहरूले गरेका छन् ।
नेपाल भ्रमण वर्षको आयोजना गरी विदेशी पर्यटकलाई व्यापक रूपमा भित्र्याउने अभियान सर्वप्रथम शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला २०५३ सालमा आयोजना गरिएको हो । अर्थात सरकारले सन् १९९८ मा पहिलोपटक नेपाल भ्रमण वर्षको आयोजना गरेको थियो । पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यसहित आयोजना गरिएको नेपाल भ्रमण वर्ष १९९८ मा ४ लाख ६३ हजार पर्यटकले नेपाल भ्रमण गरे ।
यसैगरी, दोस्रोपटक १० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष २०११ आयोजना गरियो । त्यतिवेला ८ लाख ५० हजार पर्यटकले नेपाल भ्रमण गरे । यस पटक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको घोषणा गरेको हो । विगतमा लक्ष्यको नजिक पुगिएको थियो भने यस पटक कन्त विजोग नै हुने अवस्था रहेको उद्घाटन समारोहले नै संकेत गरेको छ । सन् २०१८ र २०१९ कै तुलनामा विदेशी पर्यटकको संख्या बढ्ने हो भने सन् २०२० मा १७ लाख पर्यटकले भ्रमण गर्ने प्रक्षेपण पर्यटन व्यवसायीहरूको छ । यो स्थितिमा २० लाखको लक्ष्य महत्वाकांक्षी पनि होइन । तर यसका लागि सरकारले पूर्वाधार बनाएको छैन । व्यवसायीहरू पहिलोपटक देउवाका पालामा सन् १९९८ मा नेपाल भ्रमण वर्षको आयोजना गरिनुलाई पर्यटन उद्योगको समृद्धिका लागि कोशेढुंगा मान्छन् । उनीहरूका अनुसार त्यसै वर्षदेखि नेपालको पर्यटनले एउटा सही मार्गदर्शन पाउन थालेको हो । नेपाल भ्रमण वर्ष १९९८ सकिएलगत्तै नेपाल सरकारले सरकारी तथा निजी क्षेत्रको संयुक्त सहभागितामा सञ्चालन हुने गरी नेपाल पर्यटन बोर्डको स्थापना गरेको हो ।
पर्यटन व्यवसायी विमन लिम्बू भन्छिन्–‘करिब ८–१० वर्षको अन्तरालमा नेपाल भ्रमण वर्ष आयोजना गर्ने गरिएको छ । यो तेस्रोपटक हो । विगतका अनुभवलाई मार्गदर्शन मानेर पूर्वतयारी गर्नु पर्ने हो, तर पहिलोभन्दा दोस्रो भ्रमण वर्ष कम उपलब्धि मूलक देखियो । दोस्रो भन्दा तेस्रो अझ कम उपलब्धिमूलक हुने हो भने भ्रमण वर्ष मनाइरहनुको औचित्य रहन्न । पहिलो र दोस्रोको तुलनामा आसन्न नेपाल भ्रमण वर्ष २०२० कुनै पनि हालतमा फलदायी हुनुपर्छ ।’ पहिलो कुरा त भ्रमण वर्ष २०२० का परिकल्पनाकार पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधनपछि ६ महिनासम्म पर्यटन मन्त्रालयलाई नेतृत्वविहीन बनाइयो । प्रधानमन्त्री केपी शर्मा ओली भ्रमण वर्ष २०२० प्रति खासै गम्भीर छैनन् भन्ने उदाहरण हो यो । यसैगरी, नेपालका विमानहरूलाई युरोपियन देशहरूले कालोसूचीमा राखेको धेरै वर्ष भइसकेको छ । यसलाई हटाउन सरकार असफल भएको छ । नेपालमा कमिसनका लाथि कमसल विमान खरिद गरिन्छ भन्ने सन्देश विदेशमा पुगेको छ, अनि कसरी आउँछन् पर्यटक ?
विदेशीले दिएनन् महत्व
उद्घाटन समारोहमा देखिएको कन्तविजोग त उदाहरण मात्रै हो । कम्तिमा पनि नेपालले जुनजुनदेशमा आवासिय दूताबास स्थापना गरेको छ तीती देशका पर्यटन मन्त्रीहरू उद्घाटन समारोहमा आउनु पर्ने थियो । तर संवन्धित देशका नेपाली राजदूतहरूको हैसियत नपुगेको हो वा उनीहरूले नेपाललाई महत्व नदिएका हुन् ? यस मामिलामा पर्यटन व्यवसायीहरू चिन्तित छन् । उदाहरणका लागि नवनियुक्त नेपाली राजदूत दावाफुटी शेर्पालाई स्पेनको भिसा लगाउन एक महिना लाग्यो । बहुचर्चित यति ग्रुपकी ३५ वर्षीया शेर्पालाई दुई महिनाअघि सरकारले स्पेनका लागि राजदूतमा नियुक्त गरेको थियो ।
नियुक्तिपत्र पाउनासाथ नेपालसमेत हेर्ने गरी भारतको दिल्लीमा रहेको स्पेनी दूतावासमा कुटनीतिक पासपोर्टसहित उनले आवेदन दिइन् । तर, एक महिनासम्म भीसा लागेन । स्पेनको यो नियोग सञ्चालनका लागि वार्षिक ६ करोड रूपैयाँ भन्दा बढी खर्च हुन्छ । तर आँफू राजदुत भएको मुलुकबाट आफ्नै लागि भीसा लगाउन उनलाई महाभारत भयो । राजदूत पद पैसामा विक्रि गरे पछि जे हालत हुन्छ त्यही भयो । भिसाका लागि एक महिना पर्खेर नपुगेर उनले थप प्रष्टीकरण दिनुप¥यो । नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय क्षेत्रमा कति धेरै गिरेको रहेछ ? भन्ने प्रश्न पनि उब्जेको छ । राजदूत शेर्पाको अनुभव त पछिल्लो नजिर हो ।
यसअघि पनि यस्ता धेरै घटना सतहमा आएका थिए । उदाहरणका लागि केही वर्षअघि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई चीनको हङकङस्थित अध्यागमन कार्यालयमा करिब ६ घन्टा सोधपुछका लागि राखिएको समाचार आयो । सिमाना जोडिएको छिमेकी मुलुकले त नेपालीमाथि यति धेरै शंका गरिरहेको स्थिति छ भने अरू टाढाका मुलुकहरूको हालत के होला ?
प्रकाशित मिति: २०२०-०१-०७ , समय : १९:३०:१७ , ५ वर्ष अगाडि