कैलाश सिरोहियालाई व्यक्तिगत प्रतिशोध छैन: प्रचण्ड

इनेपालपत्र , १४८  पटक हेरिएको

लेटाङ, ९ जेठ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई व्यक्तिगत प्रतिशोधको कारणले नभई अदालती प्रक्रियाबाट पक्राउ गरिएको स्पष्ट पार्नुभएको छ।

बुधबार ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई सम्बोधन गरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले यो जानकारी दिनुभयो। उहाँले अदालती आदेशका आधारमा मात्र सिरोहियालाई पक्राउ गरिएको र यस विषयमा अनावश्यक होहल्ला गर्न जरुरी नरहेको बताउनुभयो।

प्रधानमन्त्रीले सरकारको तर्फबाट सिरोहियासँग कुनै शत्रुता नरहेको र उपप्रधान एवम् गृहमन्त्रीले व्यक्तिगत रूपमा यो मामिलामा संलग्न भएको भन्ने हल्ला निराधार रहेको प्रष्ट पार्नुभयो।

प्रधानमन्त्री प्रचण्डका अनुसार, ‘‘अदालतको आदेशपछि मात्रै यो प्रक्रिया अघि बढाइएको हो। यसमा अनावश्यक हल्ला गर्न आवश्यक छैन। सरकारको कुनै व्यक्तिगत रिसिइबी छैन। गृहमन्त्री व्यक्तिगत रूपमा लाग्नुभएको भन्ने कुरा केवल हल्ला मात्र हो।’’ उहाँले अदालती प्रक्रियाबाट सिरोहिया निर्दोष ठहरिने र सजिलै छुट्ने विश्वास पनि व्यक्त गर्नुभयो।

प्रकाशित मिति: २०२४-०५-२२ , समय : १४:५९:५२ , ८ महिना अगाडि