इनेपालपत्र , २०३ पटक हेरिएको
पर्वत, २ वैशाख । पर्वतको मोदी गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा शनिबार साँझ परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मोदी–१ भुकताङ्लेमा एक महिला र वडा नं ७ राम्जादेउरालीमा एक पुरुषको मृत्यु भएको हो ।
भुकताङ्लेका ५८ वर्षीया प्रेमकुमारी शाही र राम्जादेउरालीस्थित स्थानीय जीवनज्योति प्राविका बहालवाला शिक्षक ५७ वर्षीय शालिकराम तिमिल्सिनाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाशदिप केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार शनिबार साँझ ६।३० बजे आफ्नै घरको पिँढीमा चट्याङ लागेर अचेत बनेका तिमिल्सनालाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । हावाहुरी, र वर्षा भइरहेका बेला तिमिल्सिना भैँसी दुहुनका लागि गोठमा जान पिँढीमा निस्किँदा एक्कासि चट्याङ लागेको थियो ।
त्यसैगरी चट्याङ लागेर घाइते भएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पु¥याइएकी शाहीलाई पनि चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो । प्रहरीको टोली अहिले दुवै घटनास्थलमा मुचुल्काका लागि पुगेको र थप विवरण पछि आउने उहाँले बताउनुभयो ।
शनिबार साँझ परेको वर्षासँगैको असिनाले पनि पर्वतको मोदी गाउँपालिकामा ठूलो नोक्सानी पु¥याएको छ । सुन्तलाको पकेट क्षेत्र रहेको वडा नं २ देउपुरमा भर्खरै फल लाग्न थालेका सुन्तला झारेर नष्ट गरिदिएको स्थानीय प्रकाश चापागाइँले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२४-०४-१४ , समय : १६:३४:३२ , ९ महिना अगाडि