पार्टी र लोकतान्त्रिक बाम गठबन्धनलाई क्षति पुग्ने गतिबिधि नगर्न आग्रह

इनेपालपत्र , ३७४  पटक हेरिएको

पथरी २ कार्तिक । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ३ ले बुधबार विज्ञप्ति सार्वजनिक गर्दै सत्ता गठबन्धनका आधिकारिक उमेदवारहरूलाई सहयोग गर्न अपिल गरेको छ । क्षेत्रीय सभापति गणेश खड्काद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा गठबन्धनका आधिकारिक उमेदवार बिरुद्ध क्षति पुग्ने कुनै खाले गतिविधि नगर्न अनुरोध गरेको छ ।
विज्ञप्तिमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ मा नेपाली कांग्रेसले निर्णय गरेका र संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका उमेदवार बिरुद्ध उमेदवारी दिने, प्रस्तावक समर्थक बस्ने सबै प्रक्रिया पार्टीको भावना बिरुद्ध रहेको उल्लेख गरिएको छ । त्यसरी उमेदवारी दर्ता गर्नेलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिसकेको जनाउँदै आधिकारिक उमेदवार बिरुद्ध हुने कुनै पनि खाले भेला, जमघट र छलफलमा सहभागि नहुन आग्ह गरेको छ । पार्टी निर्णय बिरुद्ध आधिकारिक उमेदवारलाई साथ दिने ब्यक्तिलाई समेत पार्टीले कार्वाही गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । पार्टीले गरेका निर्णय प्रति असन्तुष्ठ साथीहरूलाई समेत पार्टी भित्रै रहेर संवाद छलफलमा रहन आग्रह गरिएको छ ।
यसै बीच टिकट वितरणका क्रममा भएका असन्तुष्ठ कार्यकर्ताहरू नेतृत्व छलफल मै रहेको र मतदानको मिति सम्ममा सबै असन्तुष्ठीहरू समाधान हुने क्षेत्रीय सचिव राजेन्द्र अधिकारीले बताए । अधिकारीले केन्द्रीय नेतृत्वको निर्देशन अनुसार गठबन्धनको सीट बाँडफाँड भएकोले जिल्ला, क्षेत्रमा एकले अर्कालाई दोषारोपण गरेर पार्टीलाई कमजोर बनाउने गतिविधि सञ्चालन नगर्न अनुरोध गरे ।

प्रकाशित मिति: २०२२-१०-१९ , समय : १८:१६:२९ , २ वर्ष अगाडि