बाल क्लबलाई तालिम

enepalpatra , ३२८  पटक हेरिएको

लेटाङ, १४ असार । बाल विवाह न्यूनिकरणको लागि बाल क्लब मार्फत सचेतना जगाउने उदेश्यले लेटाङमा बाल क्लब प्रतिनिधिहरुलाई २ दिने तालिम संचालन गरिएको छ ।
“बालमैत्री स्थानिय शासनको आधार, बाल विवाह न्यूनिकरणमा हाम्रो सरोकार” भन्ने मुल नाराका साथ लेटाङमा बाल क्लबका पदाधिकारीहरुलाई तालिम संचालन गरिएको हो । लेटाङ नगरपालिकाको आर्थिक सहयोगमा पहाडी ग्रामिण बिकास संस्था–हर्डनको आयोजनामा भएको तालिममा १३ वटा बिद्यालयमा गठन भएका बाल क्लबका ३० जनाको सहभागिता रहेको थियो । अर्जुन बास्तोलाको सहजिकरणमा भएको तालिममा बालमैत्री स्थानिय शासनका सुचक, बाल अधिकार, बाल बिबाहका कारण, असर र कानुनी प्राबधान, बाल बिबाह न्यूनिकरणमा बाल क्लबको भूमिकालगायतको बिषयमा अनुशिक्षण गरिएको थियो ।
तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै लेटाङ नगरपालिका उपप्रमुख कृष्ण कुमारी निरौलाले नगर क्षेत्रमा बाल अधिकारको सुनिश्चता गरी बालमैत्री नगरपालिका निर्माणमा लेटाङ नगरपालिका अघि बढिरहेको बताउनु भयो । छात्रासँग उपमेयर कार्यक्रम मार्फत बिद्यालयहरुमा सेनिटरी प्याडको निशुल्क बितरणको व्यवस्था गरिएको बताउदै उपमेयर निरौलाले बाल क्लबहरुको क्षमता बिकासबाट मात्रै बालमैत्री नगरपालिकाको अभ्यास गर्न सकिने बताउनु भयो । बाल विवाहका घटनाहरु सुगम वडाहरुमा भन्दा दुर्गम क्षेत्रका बडामा बढ्ने क्रममा रहेको बताउनु भयो । समुदाय स्तरमा हुने बाल विवाह रोक्न स्थानिय स्तरका बाल क्लबहरुको भुमिका महत्वपुर्ण हुने बताउदै उपप्रमुख निरौलाले समुदायमा बाल क्लब मार्फत अभिभावक शिक्षा संचालन गर्नुपर्ने जनाउनुभयो । सबैको साथ पाए बालमैत्री स्थानिय शासनका सुचकहरु पुरा गरी छिट्टै लेटाङ नगरपालिकालाई बालमैत्री स्थानिय शासन भएको बालमैत्री नगरपालिका घोषणा गर्न सकिने बताउदै निरौलाले सहयोग प्राप्त हुने बिश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा लेटाङ नगरपालिका योजना शाखा प्रमुख भूपेन्द्र खनालले किशोर अबस्थामा आउने परिबर्तनमा संयमित बन्न सके बाल विवाह न्यूनिकरण हुने बिचार व्यक्त गर्नुभयो । बालमैत्री स्थानिय शासनको महत्वपूर्ण सुचकको रुपमा रहेको बाल विवाहका घटना न्युनिकरणको लागि साझेदार संस्थाहरुमार्फत कार्यक्रम अगाडी बढाउने योजना रहेको बताउनुभयो । कार्यक्रममा सहभागिहरुको तर्फबाट दानियल राई, गरिमा मगर र सफल भण्डारीले तालिममा सिकेका कुराबारे बिचार व्यक्त गरेका थिए ।

प्रकाशित मिति: २०२२-०६-२८ , समय : १९:२६:५९ , २ वर्ष अगाडि