rss , ३५८ पटक हेरिएको
काठमाडौँ, ६ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले आसन्न स्थानीय तहको निर्वाचनमा अग्रगमनकारी शक्तिलाई विजयी गराउनुपर्ने बताउनुभएको छ ।
समाजवादी प्रेस सङ्गठन नेपालको उपत्यकास्तरीय प्रचार भेलामा उहाँले भन्नुभयो, “मुलुकमा प्रतिगमन शक्तिले असंवैधानिक गतिविधि गरेकाले अग्रगमनकारी शक्तिलाई विजयी गराउन सक्नुपर्छ ।”
नेता खतिवडाले समाजवादी र नवउदारवादीको एकता र सहकार्यबाट संविधानको रक्षा गर्दै प्रतिगमनविरुद्ध गठबन्धन बनाएकाले आसन्न निर्वाचनमा साझा उम्मेदवारले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पार्टीको प्रचार विभाग प्रमुखसमेत रहनुभएका उपमहासचिव खतिवडाले देशमा समाजवादी आन्दोलन अगाडि बढाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले प्रतिगमनविरुद्धको आन्दोलनबाट उक्त सङ्गठन उदय भएकाले यसले संविधानको रक्षाका लागि क्रियाशील भई पाँच दलीय गठबन्धनका नीति तथा कार्यक्रलाई जनतामाझ पु¥याउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सङ्गठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीले स्थानीय तहको निर्वाचनमा गठबन्धनका साँझा उम्मेदवारका विचारलाई मतदातासम्म लगेर अग्रगमनका पक्षमा जनमत बनाउनुपर्नेमा जोड दिनुभयो ।
सङ्गठनका उपाध्यक्ष एवं उपत्यका प्रदेश इन्चार्ज सन्तराम बिँडारीले निर्धारित समयमा चुनाव सम्पन्न भएपछि प्रतिगमनहरु किनारा लाग्ने हुँदा अब सङ्गठनमा आबद्ध पत्रकारलाई त्यसतर्फ केन्द्रित हुन आग्रह गर्नुभयो ।
प्रकाशित मिति: २०२२-०४-१९ , समय : १५:५५:२७ , ३ वर्ष अगाडि