कांग्रेस महाधिवेशन : प्रदेश नं २ मा अनिश्चित

Enepal Patra Pvt. Ltd. , ३३६  पटक हेरिएको

वीरगञ्ज, १९ मङ्सिर । नेपाली कांग्रेसको प्रदेश नं २ को नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अन्योलमा छ । हालसम्म केन्द्रिय निर्वाचन समितिबाट सबै प्रतिनिधिको नामावली प्रदेश निर्वाचन समिति समक्ष प्राप्त नहुँदा निर्वाचन प्रक्रिया अन्योलमा परेको हो ।

प्रदेश नं २ का आठवटै जिल्लामा ३२ प्रदेश निर्वाचन क्षेत्र छन् । नेपाली कांग्रेस प्रदेश २ का निर्वाचन अधिकृत प्रल्हद गौतमका अनुसार प्रदेशका सात निर्वाचन क्षेत्रमा प्रदेश अधिवेशन हुन नसकेकाले प्रतिनिधिको नामावली प्राप्त हुन सकेको छैन् ।

मतदाता नामावली प्रकाशन हुन नसक्दा अन्य निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको अधिकृत गौतमले जानकारी दिनुभयो । सर्लाहीका चार, बाराको प्रदेश निर्वाचन क्षेत्र २ ९ख०, सप्तरीको निर्वाचन क्षेत्र नं ४ र रौतहटको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधि छनोट हुन सकेको छैन ।

प्रदेश २ को सबै जिल्लाका प्रतिनिधि छनोट भएपछि कूल मतदाता एक हजार ८८८ पुग्ने छन् । निर्वाचन हुन बाँकी रहेका जिल्लाको प्रदेश अधिवेशनमार्फत छनोट हुने प्रतिनिधिको नामवली समावेश गरी बल्ल निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने निर्वाचन नभएका जिल्लाका नेता कार्यकर्ताको माग छ ।

जनकपुरधाममा रामजानकी विवाहमहोत्सव प्रारम्भ भइसकेको र पार्टीको महाधिवेशनको मूलसमारोह आगामी २२ मङ्िसरमा रहेकाले प्रदेश २ को प्रदेश अधिवेशन महाधिवेशनपछि नै धकेलिने अनुमान गरिएको छ । निर्वाचन प्रक्रिया अन्योलमा परेपछि आज पार्टी उपसभापति बिमलेन्द्र निधि, कोषाध्यक्ष सीतादेवी यादवलगायत नेता जनकपुरमा छलफलमा जुट्दै हुनुहुन्छ ।

छलफलपछि औपचारिक रुपमा निर्वाचन प्रक्रियाबारे सूचना जारी गर्ने निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो । यस अगावै प्रदेश सभापतिका लागि रौतहटका कृष्णा यादव र प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रामसरोज यादवले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।

प्रकाशित मिति: २०२१-१२-०५ , समय : १५:४५:४२ , ३ वर्ष अगाडि