Enepal Patra Pvt. Ltd. , ५२९ पटक हेरिएको
काठमाडौँ, मङ्सिर ४ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले शनिबार एकै दिन छ हजार ७४३ वडामा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्दैछ । वडादेखि केन्द्रीय तहसम्म निर्वाचन प्रक्रिया पूरा हुँदा सो पार्टीका तीन लाख कार्यकर्ताले कम्तीमा एउटा पदीय जिम्मेवारी पाउनेछन् भने आठ हजारभन्दा धेरै समिति गठन हुनेछन् ।
वडादेखि केन्द्रसम्म सर्वसम्मत वा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्ने योजनाअनुसार बनेको केन्द्रीय निर्वाचन आयोगले ७७ जिल्ला तथा सातवटा प्रदेशमा निर्वाचन समिति बनाएर आफ्नो काम गरिरहेको छ । निर्वाचन समितिमा रहने सदस्यलाई सो आयोगले तालिम तथा प्रशिक्षण यसअघि नै सञ्चालन गरेर देशव्यापी रूपमा खटाएको छ ।
आउँदो पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौँमा हुने राष्ट्रिय सम्मेलनको क्रममा शनिबार वडा सम्मेलन हुने भएको हो । पार्टीले केन्द्र बाहेकमा तीन चरणमा सम्मेलन गर्ने निर्णय गरेको छ । जसअनुसार वडा सम्मेलनपछि यही मङ्सिर ११ गते पालिका तथा नगर सम्मेलन र २५ गते प्रदेश सम्मेलन सम्पन्न हुने केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिनुभयो ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन गराउन आयोगले प्रदेशमा सात सदस्यीय, पालिकामा पाँच सदस्यीय र वडा तहमा तीन सदस्यीय निर्वाचन समिति बनाएर जिम्मेवारी प्रदान गरेको छ ।
सङ्गठित सदस्य झन्डै सात लाख
माओवादी केन्द्रको पार्टीको सङ्गठित सदस्यको सङ्ख्या छ लाख ७५ हजार पुगेको छ । बिहीबार साँझसम्म साढे पाँच लाख सदस्यको विवरण अभिलेख गरिएको तथा एक लाख २५ हजारको अभिलेखीकरणको काम भइरहेको सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
उहाँले नयाँ सदस्यता अभियान सञ्चालन गरेसँगै सङ्गठित सदस्यको सङ्ख्या छ लाख ७५ हजार पु¥याएको छ ।
देशभरका वडामा एकैसाथ हुने वडा सम्मेलनमा एकताबद्ध भएर लाग्न नेकपा माओवादी केन्द्रले अपिल गरेको छ । पार्टीका नेता तथा कार्यकर्तालाई विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकताबद्ध भएर लाग्न शुक्रबार पार्टी प्रवक्ता महाराले विज्ञप्ति जारी गर्दैै अपिल गर्नुभएको छ ।
प्रकाशित मिति: २०२१-११-२० , समय : ०९:५८:१८ , ३ वर्ष अगाडि