नोबेलको पीसीआर रिपोर्टलाई सरकारी मान्यता

Enepal Patra Pvt. Ltd. , १३८७  पटक हेरिएको

बिराटनगर २० बैशाख । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको ल्याबमा गरिएको पीसीआर परीक्षण रिपोर्टलाई विदेश जाने प्रयोजनका लागि सरकारले मान्यता दिने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा आइतवार स्वास्थ्य मन्त्रालयमा बसेको आइसीएस बैठकले न्यूनतम १ सय बेड क्षमता भएका अस्पतालको पीसीआर ल्याबलाई विदेश जाने प्रयोजनको परीक्षण मान्यता दिने निर्णय गरेसँगै नोबेलले पनि यसको मान्यता पाएको हो ।
बैंठकको निर्णयपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रले विदेश जाने प्रयोजनका लागि गरिने पीसीआर परीक्षणको मान्यता प्रदान गरिएको भन्दै नोबेललाई पत्र पठाएको छ । स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका प्रमुख डा.समिर कुमार अधिकारीले पठाएको पत्रमा विदेश जानेहरुको पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाउँन भनिएको छ । अब, विदेश जाँनेहरुले नोबेलमा पीसीआर परीक्षण गराउँन सक्ने अस्पताल सञ्चालक डा.सुनिल शर्माले बताउनु भयो ।
यसअघि विदेश जानका लागि सरकारी ल्याबहरु र काठमाडौं, ललितपुर र रुपन्देहीका पाँच ल्याबको रिपोर्टलाई मात्र सरकारले मान्यता दिँदै आएको थियो । तर, अब नोबेलले पनि मान्यता पाएपछि पूर्वी नेपालका सर्वसाधरणहरुलाई थप सहज हुने भएको छ । सरकारले अहिले पीसीआर परीक्षणको अधिकतम शुल्क २ हजार तोकेको छ । सरकारले तोकेको अधिकतम शुल्क भन्दा ५ सय कम अर्थात १ हजार ५ सय रुपैयाँमै नोबेलले पीसीआर परीक्षण गर्दै आएको छ ।

प्रकाशित मिति: २०२१-०५-०३ , समय : १४:३०:३७ , ४ वर्ष अगाडि