सञ्जीव भण्डारीको मृत्यु हाइपर टेन्सनका कारणले भएको प्रारम्भिक रिपोर्ट

Enepal Patra Pvt. Ltd. , १८३२  पटक हेरिएको

 

पथरीशनिश्चरे ,२२ पुस । मोरङको पथरी शनिश्चरे १० का सञ्जीव भण्डारीको मृत्य हाइपर टेन्सनका कारणले भएको प्रारम्भिक रिपोर्ट आएको छ ।

फाइनल रिपोर्ट भिसेरा परीक्षणको रिपोर्ट आएपछि मात्रै आउने इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप कुमार गिरीले जानकारी दिनुभयो । गिरीले भन्नुभयो ‘‘प्रारम्भिक रिपोर्टमा भण्डारीको टाउकोमा देब्रेपटिको भागबाट दिमाग (ब्रेन) मा जाने नसा फुलेर फुटेको अवस्था रहेको रिपोर्ट आएको छ ।चिकित्सकहरूका अनुसार सामान्यतया मष्तिष्कमा जाने नशा फुलेर आकष्मिक रुपमा फुट्दा मानिसको मृत्यु हुनसक्छ । त्यसैले भण्डारीकाे मृत्यु हाइपर टेन्सनका कारणले भएको हुन सक्छ । यसरी नसा फुटेको अवस्थामा ४५ मिनेट भित्र अस्पताल पु¥याउन सकिएन भने मानिसकाे मृत्यु हुने चिकित्सकहरूकाे भनाइ छ ।

हाल पेन्डिङमा नै रहेको रिपोर्ट भिसेरा परीक्षणपछि मात्रै आइपुग्ने पथरी प्रहरी प्रमुख गिरीको भनाइ छ । भिसेरा परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाइएको गिरीले जानकारी दिनुभयो । भिसेरा पछि खानामा कुनै अखाद्य बस्तु, बिस सेवन लगायत भएको भए त्यो पनि आउने छ ।

भण्डारीले प्रयोग गरेको मोबाइल सेट पनि परीक्षणका लागि ल्याबमा पठाइएको गिरीको भनाइ छ । अदालतको अनुमति पछि भण्डारीको कल डिटेल समेत पठाइसकिएको गिरीले जानकारी दिनुभयो । यस विषयमा मङ्गलबार नै परिवारका सदस्यहरुलाई समेत हालसम्म आएको यथार्थ जानकारी दिइएको र अब केही दिनमा नै भण्डारीको पूर्ण रिपोर्ट प्राप्त हुने गिरीले जानकारी दिनुभयो ।

१९ वर्षीय भण्डारी सोही वडाका युवराज बास्कोटाको घरमा पुस १४ गते बिहान मृत फेला परेका थिए । राजनीतिक एवं बैचारिक ज्ञान लिन बास्काेटाकाे घरमा आउने गरेका भण्डारी पारिवारिक सदस्य जस्तै थिए । बेलुका खाना खाएर सुतेका भण्डारी बिहान मृत फेला परेपछि बास्काेटाले नै चिकित्सक र प्रहरी बाेलाएर अनुसन्धानका लागि सबैखाले सहयोग गर्नु भएको थियोे । यस विषयमा बास्कोटा र भण्डारी दुवै पक्षले चाँडो छानविन गरी सत्य तथ्य कुरा बाहिर ल्याउन माग गरिरहेका छन् ।
यता बास्काेटा र भण्डारी बीचको अन्तरङ्ग सम्बन्ध बुझेकाहरू न उमेर समुह मिल्दोजुल्दो, न समान राजनीतिक सामाजिक हैसियत, न कुनै पनि विषयमा परस्पर प्रतिस्पर्धी सम्म नरहेका भण्डारीकाे मृत्युमा बास्काेटाकाे नाम जाेड्नु तथ्यहिन काल्पनिक विषय भएको बताउँछन् । भण्डारीले बास्काेटालाई राजनीति गुरु मानेर हिडेका थिए ।उनकाे मृत्युमा कुनै पनि राजनीतिक वा सामाजिक रङ् भर्न आवश्यक नभएको उनीहरूकाे भनाइ छ ।
मृत्यु हुनु अघि भण्डारी र बास्काेटाबीच सिमानाका नाउँमा झै – झगडा भएको थिएन , किनकी उहाँहरूकाे जग्गा जाेडिएकाे छैन ।कुनै आर्थिक काराेबार वा कुनै खालको लेनदेन र अनुचित ठाउँमा उठबस पनि भएको देखिदैन । परस्पर रिसराग वा एकले अर्कालाई उछिन्ने खालको प्रतिस्पर्धा पनि देखिदैन । त्यसैले पुष्टि हुन सक्ने तथ्य नदेखिएको स्थानीय बताउँछन् ।
अनुमानका आधारमा जथाभावी बाेल्ने समाचारमा छाउने बानीले मृत्युको पीडामा रहेका परिवारलाई झनै पीडा थप्ने निश्चित छ ।

प्रकाशित मिति: २०२१-०१-०६ , समय : २१:०८:१८ , ४ वर्ष अगाडि