मिक्लाजुङ घटनाले बढायो त्रासः चन्द समूहमाथि प्रहरीको सूक्ष्म निगरानी

‘हतियारसहित गस्ती बढाउन देशभरका प्रहरी युनिटलाई प्रहरी प्रधान कार्यालयले गर्‍यो परिपत्र’

Enepal Patra Pvt. Ltd. , ६६९  पटक हेरिएको

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका गतिविधिमाथि सूक्ष्म निगरानी बढाईने भएको छ । करिब दुई वर्षदेखि भूमिगत रहेको चन्द समूहले मोरङमा एक शिक्षकको हत्या गरेसँगै प्रहरीले देशभर हतियारसहित गस्ती बढाउँदै सूक्ष्म निगरानी गर्ने भएको हो ।

प्रहरी प्रधान कार्यालयले चन्द समूहका गतिविधिमाथि सूक्ष्म निगरानी राख्दै हतियारसहितको गस्ती बढाउन देशभरका युनिटलाई परिपत्र गरेको हो । ब्यारेक र कार्यालय तथा चन्द समूहका गतिविधिबारे सूचना र सुराकी दिनेको सुरक्षामा पनि सतर्कता अपनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

चन्द समूहले मंगलबार मोरङको उत्तरी भेग मिक्लाजुङ गाउँपालिका-१, रमितेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको सुराकी आरोपमा घाँटी रेटी हत्या गरेपछि प्रहरी थप सतर्क बनेको हो । यसअघिका हिंसात्मक गतिविधिको चन्द समूहले सजिलै जिम्मा लिने गरेको थिएन तर मंगलबार मिक्लाजुङमा प्रधानाध्यापक श्रेष्ठलाई सुराकी गरेको आरोपमा हत्या गरिएको स्वीकार गरेपछि आतंक फैलिन सक्नेप्रति प्रहरी संवेदनशील बनेको हो ।

 

मिक्लाजुङको जस्तै घटना अन्य स्थानमा पनि दोहोरिन सक्ने भन्दै प्रहरी प्रधान कार्यालयले यसप्रति सचेत र चनाखो रहन सातवटै प्रदेश, महानगरीय प्रहरी कार्यालय र देशभरका संघीय इकाइ कार्यालयको ध्यानाकर्षण गराएको छ । मिक्लाजुङमा शिक्षकको घाँटी रेटी हत्या भएको भोलिपल्ट बुधबार बिहान प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले कार्यविभाग प्रमुख (एआईजी) हरिबहादुर पाल र विशेष ब्युरोका डीआईजी प्रकाशजंग कार्कीसँग चन्द समूहका गतिविधि नियन्त्रण र प्रहरीले लिने आगामी रणनीतिबारे छलफल गरेका थिए  ।

त्यसपछि दिउँसो गृहमन्त्री रामबहादुर थापाले सो हत्याको अनुसन्धान तीव्र पार्न सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् । बैठकमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलैन्द्र थापा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायत सहभागी थिए । केन्द्रीय सुरक्षा समितिको बैठकमा सुरक्षा प्रमुखहरुलाई ब्रिफिङ गर्दै थापाले हत्यामा संलग्नको खोजी तीव्र बनाउन र पक्राउ गरेर कारबाही गर्न निर्देशन दिएका हुन् ।

 

बैठक सकिएपछि प्रहरी प्रधान कार्यालयले गरेको आन्तरिक परिपत्रमा भनिएको छ- ‘मिक्लाजुङ गाउँपालिका-१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई सुराकी गरेको आरोपमा घरबाट अपहरण गरी नजिकै जंगलमा घाँटी रेटी हत्या गरेको हुँदा यस्ता प्रकृतिका घटना अन्य स्थानमा समेत हुन सक्ने भएकाले उक्त समूहका गतिविधि नियन्त्रण गर्नका लागि हातहतियार तथा सुरक्षा सामग्रीसहित दैनिक गस्ती र निगरानी बढाउने, कार्यालय, सुरक्षा ड्युटी, पालोपहरा एवं प्रहरीलाई सूचना दिने सूचकहरूको सुरक्षाका लागि समेत आवश्यक उच्च सतर्कता अपनाउने व्यवस्था मिलाउन हुन अनुरोध गरिएको छ ।’

प्रकाशित मिति: २०२०-१२-१० , समय : ११:११:१७ , ४ वर्ष अगाडि