धुलिखेलमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला

Enepal Patra Pvt. Ltd. , १११०  पटक हेरिएको

बनेपा, ७ भदौ । काभ्रेपलाञ्चोकको धुलिखेलमा शनिबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रयोगमा आएको छ । कोरोनाको सङ्क्रमणदर बढ्दै गएको अवस्थामा सो रोगको परीक्षणका लागि स्थापना गरिएको प्रयोगशालाको अवस्थाबारेमा वाग्मती प्रदेश सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी लिनुभएको छ ।

सो क्रममा मन्त्री दुलालले काभ्रेपलाञ्चोकलगायत आसपासका जिल्लामा सेवा कार्यालय स्थापना गर्ने सरकारको नीतिअनुसार प्रादेशिक प्रयोगशाला धुलिखेलमा स्थापना गरिएको बताउनुभयो । स्थापना भएको प्रयोगशालाबाट विभिन्न रोगको परीक्षण र पहिचान गर्न सकिने गरी काम अगाडि बढाइएको उहाँले बताउनुभयो ।

प्रादेशिक जनस्वास्थ्य कार्यालयका निमित्त जनस्वास्थ्य निर्देशक नारायण कार्कीले शनिबारदेखि परीक्षण मेशिन चलेको बताउनुभयो । काभ्रेपलाञ्चोकलगायत सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र भक्तपुर जिल्लालाई समेट्ने गरी स्थापना भएको प्रयोगशालामा दैनिकरूपमा ५०० भन्दा बढीको परीक्षण गर्न सकिने निमित्त निर्देशक कार्कीले बताउनुभयो । प्रयोगशालामा सात जनशक्तिले सेवा दिने जनाइएको छ । मेशिन सञ्चालनमा आए पनि स्वाब परीक्षणका लागि नमूना सङ्कलन आजदेखि मात्रै हुने कार्कीले बताउनुभयो । वाग्मती प्रदेश सरकारकोे प्रदेश राजधानी हेटाँैडामा भए पनि प्रादेशिक केन्द्रीय प्रयोगशाला धुलिखेलमा स्थापना भएको उहाँले बताउनुभयो ।

जनस्वास्थ्य प्रयोगशालाका लागि हाललाई नगरपालिकाले भवनको व्यवस्थापन गरेको र बाँकी पूर्वाधार नगरपालिका र प्रदेश सरकारको साझेदारीमा भएको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जूले बताउनुभयो । त्यसलाई थप व्यवस्थित बनाउनका लागि नगरपालिकाले जग्गाको व्यवस्थापन गर्ने र भवन निर्माणको काम प्रदेश सरकारले गर्ने भएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: २०२०-०८-२३ , समय : ०७:२१:२८ , ४ वर्ष अगाडि