मङ्गलबारे अस्पतालमा रक्त सञ्चार सेवा सुरु

Enepal Patra Pvt. Ltd. , १५०६  पटक हेरिएको

हरिप्रसाद कोइराला
उर्लाबारी, २७ असार । मोरङको उर्लाबारीस्थित मङ्गलबारेमा शनिबार देखि रक्त सञ्चार सेवा सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी उप शाखा कार्यालय उर्लाबारीले रक्त सञ्चार सेवा सुरु गरेको हो ।
उर्लाबारीका नगर प्रमुख खड्ग बहादुर फागोले रक्त सञ्चार सेवा (ब्लड बैंक)को उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै नगर प्रमुख फागोले मङ्गलबारे अस्पतालको स्तरोन्नतिका लागि तीनै तहका सरकारको सहयोग आवश्यक रहेको बताउनु भयो । अस्पतालले दिने सेवाहरू गुणस्तरीय हुनु पर्नेमा जोड दिँदै नगर प्रमुख फागोले स्थानीय तहको मातहतमा रहेका सरकारी गैर सरकारी निकायको नाम फेर्ने विषयमा स्थानीय सरकारसँग परामर्स नभएको बताउनु भयो ।
समारोहमा नगरका उप प्रमुख लक्ष्मीदेवी भण्डारीले मङ्गलबारे अस्पताललाई मदन भण्डारी ट्रमा सेन्टर बनाएर स्तरोन्नति गर्ने विषयको विरोध हुनु नहुने बताउनु भयो । प्राथमिक स्वास्थ्य केन्द्रबाट स्तरोन्नति भई १५ शैयाको मङ्गलबारे अस्पताल बनेपछि अस्पतालमा शल्यक्रिया सेवा समेत सुरु भएको छ । शल्यक्रिया सेवा सुरु भएसँगै दैनिक आवश्यक पर्ने रगत आपुर्ति गर्न ब्लड बैंक स्थापना गरिएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष भानुभक्त शर्माले बताउनु भयो ।
मङ्गलबारे अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर योगेन्द्र मण्डलले अस्पतालमा शल्यक्रिया सेवा सुरु भएसँगै ब्लड बैंकको आवश्यकता खड्किएको बताउँदै ,अब त्यो पुरा भएको बताउनु भयो । बिगतमा बिरामीले बिराटनगर र दमकबाट रगत ल्याउनुु पर्ने बाध्यता थियो ,उहाँले भन्नुभयो ।
बिराटनगर बाहिर नेपाल रेडक्रस सोसाइटी उर्लाबारी, उप शाखाले रक्त सञ्चार केन्द्र(ब्लड बैंक) सञ्चालन गर्दै आएको थियो । मङ्गलबारे अस्पतालबाट ब्लड बैंक २ किलोमिटर पूर्व भएपनि २४ घण्टा सेवा दिन ब्लड बैंक अस्पताल परिसर मै आएको उप शाखा अध्यक्ष मदन प्रसाईले बताउनु भयो ।

प्रकाशित मिति: २०२०-०७-११ , समय : १८:५२:२९ , ४ वर्ष अगाडि