साइकलमा हालेर डायलोसिस गर्न बिराटनगर सम्म

Enepal Patra Pvt. Ltd. , १५५०  पटक हेरिएको

हरिप्रसाद कोइराला,
कानेपोखरी(मोरङ), २७ असार । सास हुन्जेल बचाउन सकिन्छ कि भन्ने आश हुन्छ । उपचार गर्दा गर्दै १० लाख रुपियाँ सकियो । अझ सरकारले देशमा बन्दाबन्दी घोषणा गरेपछि मिर्गौला पीडित फूलमाया तामाङ झनै समस्या खेपिरहनु भएको छ ।
उपचार खर्च जुटाउने समस्या त छँदैछ । गाउँबाट साइकलमा बिरामी बोकेर शहर सम्म पुग्नुको पीडा कम कष्टकर छैन् । तर, मोरङको कानेपोखरी–६ बरगाछीका ४६ वर्षीय भीमबहादुर तामाङ आफ्नी ४५ वर्षीया पत्नी फूलमायालाई साइकल मै बोकेर बिराटनगर सम्म पु¥याउँनु हुन्छ । दुबै मिर्गौला काम नलाग्ने भएपछि १६ महिना यता फूलमाया नियमित उपचार गराइरहनु भएको छ । विराटनगरको गोल्डेल अस्पतालमा उहाँको डायलोसिस भइरहेको छ । हप्तामा दुई पटक साइकलको पछाडि पत्नीलाई राखेर उहाँ बिराटनगर पु¥याउँनु हुन्छ । सोमबार र बिहीबार डायलोसिस गर्ने पालो आउँछ । उपचार खर्च,रगत र खानपिन खर्च जुटाउनु पर्ने सङ्कट त छँदैछ । घरबाट ४३ किलोमिटर टाढाको बिराटनगर सम्म पुगेर घर फर्कदा उहाँ लल्याक लुलुक हुनुहुन्छ । वर्षायाम समय लगातारको पानीझरी । भीमबहादुर भन्नुभन्छ– एम्बुलेन्सले जाँदा– आउँदा ४ हजार लिन्छ । टेम्पोले ३ हजार लिन्छ । त्यत्रो पैसा खर्च गर्नु भन्दा साइकल पेलेरै बिरामीलाई लाने ल्याउँने गरिरहेको छु । भीमबहादुर साइकलमा बिहान ९ बजे गाउँबाट हिड्दा २ बजे बिराटनगर पुग्नुहुन्छ । डायलोसिस गरेर घर फर्कदा रातको ८÷९ बज्छ । साइकलमै खाना ,खाजा पानी छल्ने ओडा लगायत बन्दोबस्तीका सामग्री बोकेर सधैं बिराटनगर धाउँदा उहाँलाई दिक्कार लाग्न थालिसकेको छ । सार्वजनिक सवारीका साधन चल्दा उहाँलाई कुनै समस्या थिएन् । तर,घरमा मोटरसाइकल सम्म नहुँदा उहाँ ठूलो समस्यामा हुनुहुन्छ ।
साइकलमा बिरामी बोकेर आउँजाउँ गर्दा गर्दै उहाँ थाकिसक्नु भएको छ । उहाँले भन्नुभयो –सङ्कटमा आफन्त पनि बैरि हुँदा रहेछन् । कसैले सन्चो बिसन्चो सम्म सोध्दैनन्, उहाँले आँखाभरि आँशु बनाउँदै भन्नुभयो । ०५७ सालमा काठमाडौंको थानकोटमा ४ आना जग्गा किनी दिन्छु भनेपछि बैदेशिक रोजगारमा गएर कमाएको ७५ हजार ५ सय रुपियाँ आफन्तलाई दिनुभयो । अहिले त्यो जग्गा बेचेर श्रीमतीको मिर्गौला प्रत्यारोपण गरौं भनेको साँवा पैसा फिर्ता गरिदिए । त्यसयता उहाँलाई संसारमा आफ्नो मान्छे कोही हुन्न जस्तो लागेको छ । भएको सबै पैसा उपचार खर्चमा सकियो । मिर्गाैला प्रत्यारोपण गर्ने खर्च छैन् ।
५ कट्ठा जग्गा र सानो घर पनि धितो राखेर उपचार गरिरहेको उहाँको भनाई छ । दुई छोरी र बिरामी श्रीमतीसँग बस्दै आउनु भएका तामाङले सहयोगको याचना गर्नुभयो ।

प्रकाशित मिति: २०२०-०७-११ , समय : १५:५३:१३ , ४ वर्ष अगाडि