Enepal Patra Pvt. Ltd. , ६३१ पटक हेरिएको
दोलखा ८ फागुन । प्रसिद्ध दोलखा भीमेश्वरमा बिहीबार बिहान पसिना आएको छ । भीमेश्वरमा पसिना आएपछि अनिष्ट हुने संकेतका रुपमा बुझिन्छ ।
पसिना आएपछि बिहीबार बिहानदेखि नै भक्तजनहरुको घुइँचो लागेको छ । अनिष्ट नहोस् भनी उनीहरुले कामना गरिरहेका छन् ।
त्यसैगरी एकोहोरो दमाहासमेत बजाइएको छ ।
भीमेश्वरमा पसिना आउनासाथ राष्ट्र प्रमुखले क्षमापूजा गर्ने चलन रहेको छ ।
यसअघि २०७४ सालको असोजमा पनि भीमेश्वरमा पसिना आएको थियो । भीमेश्वरलाई एकैदिन दुईपटक पसिना आएपछि संकट टरोस् भन्दै राष्ट्रपति कार्यालयबाट पठाइएको पूजासामग्रीसहित क्षमा पूजा गरिएको थियो ।
भीमेश्वरलाई पसिना आएपछि सो पसिना पुछिएको कपास ‘महाप्रसाद’को रुपमा राष्ट्रपति कार्यालय पठाएपछि त्यहाँबाट क्षमापूजा पठाउने प्रचलन छ । सोहीअनुसार राष्ट्रपति कार्यालयबाट पठाएको पूजासामग्रीसहितले भीमेश्वरमा क्षमापूजा गरिएको थियो ।
उक्त क्षमापूजामा लघुरुद्री गरिसकेपछि बलिपूजा गरिन्छ । सरकारका तर्फबाट र स्थानीयवासीको तर्फबाट दुई–दुईवटा बोका बलि दिनुपर्ने प्रचलनअनुसार बलिपूजा गरिन्छ ।
बाजागाजासहित बलिपूजा गरेपछि उपस्थित सबैलाई प्रसाद बाँडिन्छ र क्षमापूजा समापन हुन्छ ।
त्यसअघि राजदरबार हत्याकाण्डमा पूर्वराजा वीरेन्द्र शाहको वंश नाश हुने बेलामा पनि भीमेश्वरमा पसिना आएको थियो । त्यस्तै २०७२ सालको महाभूकम्पअघि पनि भीमेश्वरमा पसिना आएको थियो ।
प्रकाशित मिति: २०२०-०२-२० , समय : १०:२०:१० , ५ वर्ष अगाडि