ईनेपालपत्र , २३ पटक हेरिएको

सञ्जय मिश्रा
बारा – बारा जितपुर सिमराबाट प्रहरीले ६२ किलो भन्दाबढी लागुऔषध गाँजासहित हेटौंडाका एक जनालाई पक्राउ गरेको छ। गाँजा तस्करीमा संलग्न अन्य तीन जना फरार रहेका छन्।
प्रहरीले हेटौंडा उप-महानगरपालिका-१३ पदमपोखरीका २७ वर्षीय विवेक थिङलाई पक्राउ गरेको बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङले बताए।
इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट वरिष्ठ सई टेकबहादुर कार्कीको नेतृत्वमा शनिबार खटिएको टोलीले जितपुर सिमरा-२१ छठिमाई घाटस्थित हेटौंडाबाट-वीरगन्जतर्फ जाँदै गरेको बा ०२-०४२-००९ प ७०९५ र ना ५४ प ५२७० नम्बरको दुई वटा मोटरसाइकलबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो।
चेकजाँतका क्रममा अन्य तीन जना व्यक्ति मोटरसाइकल छोडेर फरार भएको एसपी तामाङले बताए।
थिङलाई नियन्त्रणमा लिँदा दुबै मोटरसाइकलबाट ६२ किलो ५५ ग्राम गाँजा बरामद भएको थियो। पक्राउ परेका थिङमाथि लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान थालिएको छ।
फरार भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ। बारा प्रहरी प्रमुखको रूपमा एसपी तामाङले कमाण्ड सम्हालेदेखि प्रहरीको सक्रियताले लागुऔषध कारोबारीहरू धमाधम पक्राउ परिरहेका छन्।
प्रकाशित मिति: २०२५-०४-१३ , समय : १७:००:०८ , ३ दिन अगाडि