लेटाङमा लागुऔषध दुर्ब्यसन र अनैतिक क्रियाकलाप नियन्त्रणबारे वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ईनेपालपत्र , ४९  पटक हेरिएको

लेटाङ,८ चैत । लागुऔषध दुव्र्यसन तथा अनैतिक यौनजन्य क्रियाकलाप न्यूनीकरणका लागि ‘लेटाङ सचेत नागरिक समाज’ को आयोजनामा शुक्रबार एक वृहत अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा लेटाङमा सक्रिय राजनीतिक दलका प्रतिनिधिहरू, सुरक्षा निकायका अधिकारीहरू तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा लेटाङ सचेत नागरिक समाजका अध्यक्ष भरत कुमार राई को अध्यक्षता रहेको थियो भने स्वागत मन्तव्य लोकबहादुर गिरिले प्रस्तुत गरेका थिए। इलाका प्रहरी कार्यालय, लेटाङका प्रमुख राकेश रेग्मी, वडा नं ३ का अध्यक्ष डम्बर बहादुर राई, वडा नं ४ का अध्यक्ष रामकुमार श्रेष्ठ, नेपाली कांग्रेस लेटाङ नगर सभापति दिपक चन्द्र राई लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए।
इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख राकेश रेग्मीले लागुऔषध दुव्र्यसन नियन्त्रणका लागि कानूनी प्रवृत्ति बलियो बनाउन आवश्यक रहेको उल्लेख गर्दै प्रहरीको प्रयास मात्र पर्याप्त नभएको बताए। उनले सामुदायिक सचेतना तथा अभिभावकहरूको निगरानी आवश्यक रहेकोमा जोड दिए।
वडा नं ३ का अध्यक्ष डम्बर बहादुर राईले सचेतनाका अभावका कारण युवा वर्ग लागुऔषधको दुव्र्यसनमा आकर्षित भइरहेको बताए। उनले रोजगारी सिर्जना गरी युवाहरूलाई सही मार्गमा ल्याउन नीति निर्माण आवश्यक रहेको धारणा राखे।
वडा नं ४ का अध्यक्ष रामकुमार श्रेष्ठले स्थानीय तहले सचेतनामूलक अभियान सञ्चालन गर्दै आइरहेको तर अझ प्रभावकारी ढंगले काम गर्नुपर्ने बताए। उनले समुदायस्तरमा अभिभावक र विद्यालयहरूसँग समन्वय गरी समस्याको रोकथाम गर्नुपर्नेमा जोड दिए।
नेपाली कांग्रेस लेटाङ नगर सभापति दिपक चन्द्र राईले लागुऔषध प्रयोगकर्तालाई सुधार गर्ने उपाय अपनाउनु पर्ने बताए। उनले कानूनी रूपमा लागू औषध प्रयोगकर्तालाई मात्र कारबाही गरेर समस्या समाधान नहुने बताउँदै उपचार, परामर्श तथा पुनस्र्थापना कार्यक्रमहरूलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखे।
अन्तरक्रियामा सहभागीहरूले नेपालमा हाल १ लाखभन्दा बढी लागू औषध प्रयोगकर्ता रहेको तथ्यांक सार्वजनिक भइरहेको उल्लेख गर्दै लेटाङ क्षेत्रमा पनि यसको प्रयोग व्यापक रहेको विषय उठान गरे। कानुन कमजोर भएका कारण कारबाही प्रभावकारी नभएको, जनचेतनाको कमी रहेको तथा बेरोजगारी बढ्दै जाँदा समस्या थप जटिल बन्दै गएको निष्कर्ष निकालियो।
कार्यक्रम संयोजक सुवन कुमार याखाले कार्यक्रमको उद्देश्य तथा आगामी योजनाबारे जानकारी गराउँदै समुदायस्तरबाटै समस्या समाधानका लागि पहल गर्न सबै पक्षलाई आग्रह गरे।
कार्यक्रममा उपस्थित सरोकारवालाहरूले समन्वयात्मक प्रयासमार्फत लागुऔषध दुव्र्यसन तथा अनैतिक क्रियाकलाप नियन्त्रण गर्न विभिन्न योजनाहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रकाशित मिति: २०२५-०३-२१ , समय : १८:३३:०३ , २ हप्ता अगाडि