ईनेपालपत्र , ५४ पटक हेरिएको

लेटाङ,७ चैत। लागुऔषध दुव्र्यसनी तथा अनैतिक यौनजन्य क्रियाकलाप रोकथामका लागि सचेतना अभिवृद्धि गर्न ‘लेटाङ सचेत नागरिक समाज’ द्वारा भोलि शुक्रवार एक वृहत अन्तरक्रिया कार्यक्रम आयोजना गरिने भएको छ।
लेटाङ क्षेत्रमा पछिल्लो समय लागुऔषध दुर्व्यसन तथा अनैतिक गतिविधिहरू बढ्दै गइरहेको सन्दर्भमा सो समस्या न्यूनीकरण गर्नका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको उक्त संस्थाले अब यस अभियानलाई थप प्रभावकारी बनाउन राजनीतिक दल तथा सुरक्षाकर्मीहरूसँग संयुक्त छलफलको तयारी गरेको हो।
यो विशेष अन्तरक्रिया कार्यक्रम आगामी चैत्र ८ गते, शुक्रवार, दिउँसो १२स्०० बजे मगर गुम्बा लेटाङ–४ मा आयोजना गरिने छ। कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू, इलाका प्रहरी, सामाजिक अभियन्ताहरू तथा सरोकारवालाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
लेटाङ सचेत नागरिक समाजका अध्यक्ष भरत कुमार राईका अनुसार यो छलफलले लागुऔषध तथा अनैतिक गतिविधिहरूको नियन्त्रणका लागि नयाँ रणनीति बनाउने तथा आगामी दिनमा आवश्यक नीतिगत तथा व्यावहारिक कदम चाल्न मद्दत गर्नेछ।
यस कार्यक्रममा स्थानीय समुदायको पनि व्यापक उपस्थितिका लागि आग्रह गरिएको छ, जसले समस्या पहिचान गर्ने मात्र नभई समाधानका उपायहरूबारे समेत ठोस निष्कर्ष निकाल्न सघाउने विश्वास गरिएको छ।
प्रकाशित मिति: २०२५-०३-२० , समय : १०:११:१४ , ३ हप्ता अगाडि