बालविवाह अन्त्यको सन्देशसहित विद्यार्थीलाई न्यानो ज्याकेट वितरण

ईनेपालपत्र , ४४  पटक हेरिएको

लेटाङ, ३ चैत । ‘बालविवाह अन्त्य गरौँ’ भन्ने सन्देशसहित न्यु सङ इन्टरनेशनल कुरासाओको आयोजनामा तथा समाजसेवी युवा जुलु कार्की (गिरिस)को संयोजनमा मोरङको लेटाङ-७ वारङीस्थित महेन्द्र माविका विद्यार्थीहरूलाई न्यानो इन्सुलिङ ज्याकेट वितरण गरिएको छ।
वारङी क्षेत्र प्रायः चिसो रहने ठाउँ भएकाले विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउने उद्देश्यले न्यानो कपडा वितरण गरिएको संस्थाका नेपाल प्रतिनिधि समेत रहेका गिरिस कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार जाडो मौसममा उचित लुगा अभावका कारण कतिपय विद्यार्थीहरू नियमित विद्यालय जान सक्दैनन्, जसले उनीहरूको सिकाइमा प्रभाव पार्छ। यसै सन्दर्भलाई मध्यनजर गर्दै विद्यार्थीलाई ज्याकेट प्रदान गरिएको हो।
समाजसेवा क्षेत्रमा सक्रिय गिरिस कार्कीले यसअघि पनि विभिन्न सामाजिक कार्यहरूमा अग्रसरता देखाइसकेका छन्। शिक्षा, स्वास्थ्य र सामाजिक सचेतनाका क्षेत्रमा उनको योगदान उल्लेखनीय छ। यो अभियानले विद्यार्थीहरूलाई जाडो मौसममा राहत दिनुका साथै बालविवाहविरुद्धको सन्देश फैलाउने काम गर्ने उहाँको विश्वास छ। “बालविवाह केवल व्यक्तिगत समस्या मात्र होइन, यो समाजको बाधक तत्व हो। शिक्षामा लगानी गर्दै बालविवाह अन्त्य गर्न सकिन्छ,” कार्कीले भन्नुभयो।
कार्यक्रममा प्रमुख अतिथि वडा नं. ७ का वडा अध्यक्ष खगेन्द्र लिम्बु, विद्यालयका प्रधानाध्यापक फम कुमार मगर, नेपाली कांग्रेस वडा नं. ७ का सभापति गौतम लिम्बु, विद्यालयका शिक्षकहरू, सुरक्षाकर्मी, अन्य जनप्रतिनिधिहरू, स्थानीय समाजसेवीहरू तथा गिरिस कार्कीको समूहको उपस्थितिमा विद्यार्थीहरूलाई ज्याकेट वितरण गरिएको थियो।
वडा अध्यक्ष खगेन्द्र लिम्बुले बालविवाह जस्तो सामाजिक विकृति अन्त्य गर्न शिक्षा नै प्रमुख माध्यम भएको बताउँदै यस्ता सचेतनामूलक कार्यक्रमहरूको प्रशंसा गर्नुभयो। “हाम्रो समाजमा अझै पनि बालविवाह जस्ता समस्याहरू छन्। यसको अन्त्यका लागि शिक्षालाई बलियो बनाउन जरुरी छ। विद्यार्थीलाई प्रोत्साहित गर्न र विद्यालयमै टिकाइ राख्न यस्ता कार्यक्रम प्रभावकारी हुनेछन्,” उहाँले भन्नुभयो। साथै, उहाँले आगामी दिनमा पनि यस्ता सामाजिक अभियन्ताहरूको अभियानलाई वडाको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने बताउनुभयो।
विद्यालयका प्रधानाध्यापक फम कुमार मगरले विद्यार्थीहरूको शैक्षिक वातावरण सुधार गर्न यस्ता सहयोगी कार्यक्रमहरू निकै महत्वपूर्ण हुने बताउनुभयो। उहाँले भन्नुभयो, “न्यानो कपडाले विद्यार्थीहरूलाई नियमित विद्यालय आउन प्रेरित गर्नेछ। यसका साथै, बालविवाहविरुद्धको सन्देशले उनीहरूलाई र समाजलाई सचेत बनाउन मद्दत गर्नेछ।”
न्यानो ज्याकेट पाएपछि विद्यार्थीहरू खुसी भएका थिए। उनीहरूका अनुसार यो सहयोगले जाडोयाममा विद्यालय आउन सहज हुनेछ। अभिभावकहरूले पनि सामाजिक कार्यमा युवाहरूको सहभागिता देखेर खुसी व्यक्त गरेका छन्। “हाम्रो छोराछोरीलाई न्यानो कपडा मात्रै होइन, भविष्यबारे सोच्ने अवसर पनि मिलेको छ। यस्ता अभियानले बालविवाहजस्ता गलत प्रथालाई निरुत्साहित गर्छ,” स्थानीय नरेन्द्र लिम्बुले भने।
संयोजक गिरिस कार्कीका अनुसार यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिइनेछ। “समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि हाम्रा सानातिना प्रयासहरूले ठूलो अर्थ राख्छन्। शिक्षा र सचेतनाको माध्यमबाट मात्रै बालविवाहजस्ता समस्या समाधान गर्न सकिन्छ,” उहाँले बताउनुभयो।
यस कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक वातावरण सुधार गर्नुका साथै समाजमा बालविवाहविरुद्ध जनचेतना जगाउने महत्वपूर्ण पहल गरेको छ। आयोजक तथा स्थानीय नेतृत्वले पनि यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०२५-०३-१६ , समय : १८:४२:०२ , ३ हप्ता अगाडि