इनेपालपत्र , १२२ पटक हेरिएको
धरान, १९ माघ। धरानस्थित पूर्वाञ्चल क्याम्पसमा यस वर्ष पनि राष्ट्रिय प्राविधिक महोत्सव DELTA 5.0 आयोजना हुने भएको छ। Technology for Agriculture & Innovation विषयवस्तुमा आधारित यो महोत्सव माघ १८, १९, र २० गतेसम्म सञ्चालन हुनेछ।
महोत्सवको औपचारिक उद्घाटन माघ १८ गते पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। विज्ञान र प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनशील सोचलाई अघि बढाउने उद्देश्यले आयोजित यस कार्यक्रमका प्रमुख प्रतिस्पर्धा तथा प्रदर्शनीहरू माघ १९ र २० गते हुनेछन्।
कार्यक्रममा गोकार्ट रेसिङ, रोबोटिक फाइट, रोबोटले मार्ग पत्ता लगाउने प्रतिस्पर्धा, सुधारिएको ग्रिनहाउस डिजाइन, कोड कम्पिटिसन, भवन निर्माण प्रतियोगिता, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स उपकरण निर्माण, र इन्जिनियरिङ प्रोजेक्ट जस्ता विभिन्न विधाका गतिविधिहरू समावेश छन्।
पूर्वाञ्चल क्याम्पसका विद्यार्थीहरू तथा प्रविधि क्षेत्रका विज्ञहरूको विशेष उपस्थितिमा आयोजना हुने यो महोत्सव प्रविधिको विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ। साथै, समुदायमा वैज्ञानिक सोच र प्रविधिप्रति रुचि अभिवृद्धि गराउने लक्ष्य लिइएको आयोजकले जनाएका छन्।
विज्ञान तथा प्रविधिमा रुचि राख्ने सबैलाई महोत्सवमा सहभागी भई नवीनतम आविष्कार र प्रतिस्पर्धाको अनुभव लिन आयोजक समितिले अनुरोध गरेको छ।
प्रकाशित मिति: २०२५-०२-०१ , समय : १८:४९:०१ , ४ दिन अगाडि