ईनेपालपत्र , ११ पटक हेरिएको
लेटाङ, ८ माघ। लेटाङ–१ स्थित ऐतिहासिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण राजारानी पोखरीमा कमलको फूल तोडिएको घटनाले स्थानीय बासिन्दा आक्रोशित भएका छन्। टिकटकमा दिपन थापा नामक व्यक्तिले पोखरीको कमलको फूल तोडेर भिडियो बनाएको देखिएपछि यो विषय सामाजिक सञ्जालमा भाइरल बनेको छ।
राजारानी पोखरीको संरक्षणका लागि जिम्मेवार मानिने स्थानीय राजारानी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष सुजन मगरले यो घटनालाई गम्भीरता साथ लिएका छन्। उनका अनुसार पर्यटकको अव्यवस्थित गतिविधिका कारण पोखरीमा रहेको दुर्लभ र जोगाउनै मुस्किल पर्ने कमलको फूल पटक–पटक नष्ट हुँदै आएको छ। उनले भने, “राजारानी पोखरी हाम्रो पहिचान हो। यसरी पर्यटकले फूल तोडेर प्राकृतिक सम्पदा ध्वस्त पार्नु निन्दनीय छ। यस घटनाबारे सम्बन्धित निकायमा उजुरी दर्ता गरिन्छ।”
राजारानी पोखरी लेटाङ क्षेत्रकै प्रमुख पर्यटकीय स्थलमध्येको एक हो। पोखरीमा फुलेका कमलका फूल पर्यटकलाई आकर्षित गर्छन्। तर, फूल तोड्ने, फोहोर फाल्ने, र पोखरीको प्राकृतिक सौन्दर्यमा हानि पुर्याउने जस्ता गतिविधि बढ्दै जाँदा संरक्षणको चुनौती थपिएको छ।
कमलको फूल तोडेर टिकटक बनाउने व्यक्तिको क्रियाकलापप्रति सामाजिक सञ्जालमा पनि आलोचना भइरहेको छ। “राजारानी पोखरीजस्तो हाम्रो सम्पदा रक्षा गर्न सबैले जिम्मेवारी देखाउनुपर्छ। यस्ता गतिविधिले हाम्रो पहिचान मेटिन्छ,” स्थानीयबासी रमेश तामाङले आफ्नो प्रतिक्रिया दिएका छन्।
यो घटनाबारे प्रहरीलाई जानकारी गराएर दोषीमाथि कारबाहीको माग गरिएको छ। बन समितिका अध्यक्ष मगरले पर्यटकहरूलाई पोखरी प्रवेश गर्दा नियम मान्न बाध्य पार्नका लागि थप कदम चाल्नुपर्ने बताए।
राजारानी पोखरीजस्ता ऐतिहासिक र पर्यटकीय स्थलको संरक्षणका लागि स्थानीय र सम्बन्धित निकायले एकजुट भई ठोस कदम चाल्न आवश्यक छ। यस्ता घटनाले प्राकृतिक सम्पदा मात्र नभई, स्थानीयको पहिचान र गौरवलाई पनि हानि पुर्याउँछ। दोषीलाई तत्काल कारबाही गरिनुका साथै भविष्यमा यस्ता गतिविधि रोक्न प्रभावकारी व्यवस्थापन गर्नुपर्छ।
प्रकाशित मिति: २०२५-०१-२१ , समय : १४:३०:१८ , २३ घन्टा अगाडि