नेपालका विभिन्न ठाउँमा छिटफुट वर्षा

ईनेपालपत्र , ३८  पटक हेरिएको

काठमाडौं,२४ मङ्सिर । सोमबार काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा छिटफुट वर्षा भएको छ । आइतबार साँझबाट देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदली भएको मौसम सोमबार रातीसम्म कायम रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, पश्चिमी वायुसँगै आउने पश्चिमी न्यूनचापीय प्रणालीको कारण आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ ।

महाशाखाका अनुसार आइतबारदेखि सोमबार रातिसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा गण्डकी, बागमती प्रदेश र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।

साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेश र अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्नेछ ।

वर्षा हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकाले सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति: २०२४-१२-०९ , समय : १५:३६:२४ , ३ हप्ता अगाडि