संस्कृति संरक्षणले मात्रै आपसी सद्भाव र एकता मजबुत हुन्छ: मुख्यमन्त्री कार्की

इनेपालपत्र , ४२  पटक हेरिएको

विराटनगर २२ कार्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकका विविध संस्कृति र परम्पराहरूको संरक्षण गर्नाले मात्रै आपसी सद्भाव र एकतालाई बलियो बनाउन सकिने बताउनुभएको छ। आज छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले नेपालजस्तो बहुभाषी, बहुजातीय र बहुसांस्कृतिक देशमा हरेक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो।

मुख्यमन्त्री कार्कीले आफ्नो शुभकामना सन्देशमा भन्नुभयो, “म सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्भावलाई थप सुदृढ बनाउन छठ पर्वले प्रेरणा दिनेछ भन्ने अपेक्षा गर्दछु।”

अस्ताउँदो र उदाउँदो सूर्यको आराधना गर्दै मनाइने छठ पर्वलाई महत्वपूर्ण मौलिक पर्वको रूपमा वर्णन गर्दै उहाँले भन्नुभयो, “हर्षोल्लास र धूमधामका साथ मनाइने यस पर्वले धर्म, संस्कृति र रीतिरिवाजको संरक्षण गर्दै हामीबीचको आपसी सद्भाव र एकतालाई अभिवृद्धि गरेको छ।” मुख्यमन्त्री कार्कीले छठ पर्वले समाजमा विद्यमान विभेद, कुरीति र विसङ्गतिको अन्त्य गर्दै समृद्ध नेपाल र सुखी नेपालीको निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

समानता र समभावको प्रतीक सूर्यको आराधना गर्दै मनाइने छठ पर्वमा सबै प्राणीहरूलाई बिना भेदभाव उही शक्ति, ताप र प्रकाश प्रदान गर्ने सूर्यलाई सम्मान गरिन्छ। आज छठ पर्वको मुख्य दिनमा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी रातभर जाग्राम बसिन्छ, र भोली बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर यो पर्व सम्पन्न गरिन्छ।

प्रकाशित मिति: २०२४-११-०७ , समय : ०७:२६:१३ , २ महिना अगाडि