लेटाङ नगरपालिकामा चाडपर्व लक्षित शान्ति सुरक्षा तथा व्यवस्थापनका लागि सर्वपक्षीय छलफल सम्पन्न

प्रशान्त निराैला , ८२  पटक हेरिएको

लेटाङ, ९ अशाेज । लेटाङ नगरपालिकाले चाडपर्वको पूर्वसन्ध्यामा शान्ति सुरक्षा तथा विविध विषयमा सर्वपक्षीय छलफल सम्पन्न गरेको छ। नगरपालिकाका प्रमुख भुपेन्द्र कुमार लावतीको अध्यक्षतामा सम्पन्न उक्त छलफलमा नगरपालिकाका उपप्रमुख कृष्णकुमारी निरौला, विभिन्न वडाध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरू, सुरक्षा निकाय, पत्रकार, र समाजका अगुवा व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
छलफलको प्रमुख उद्देश्य चाडपर्वको समयमा शान्ति सुरक्षा, व्यापार व्यवस्थितीकरण, र सामाजिक सद्भाव कायम राख्दै नगरका सर्वसाधारणलाई सुरक्षित वातावरण प्रदान गर्नु थियो। कार्यक्रममा उपस्थित सबै पक्षले नगरपालिकालाई सहयोग गर्ने प्रतिबद्धता जनाए।
सर्वसम्मत निर्णयअनुसार, अटो र रिक्साको साझा भाडादर निर्धारण गर्न सम्बन्धित पक्षसँग छलफल गरी सिफारिस गर्ने निर्णय गरिएको छ। यसले नगरमा सार्वजनिक यातायातका साधनहरूलाई थप व्यवस्थित र सर्वसाधारणको पहुँचमा पुर्याउने विश्वास गरिएको छ। त्यस्तै, नगरमा बाहिरबाट सामान बिक्री गर्न आउने दर्ता नभएका व्यापारीहरूको खाद्य सामग्रीको नियमित अनुगमन र नियमन गर्न नगरपालिकालाई सिफारिस गरिएको छ।
छलफलमा देउसी, भैलो, हुर्रा, नाचगान र व्यापार व्यवसाय सञ्चालनलाई राति १० बजेसम्म सीमित राख्न सिफारिस गर्ने निर्णय गरियो। साथै, यस्ता कार्यक्रमहरूमा दिन सकिने दान-दक्षिणा अधिकतम रु ५०५ निर्धारण गर्न नगरकार्यपालिकालाई सिफारिस गरिएको छ।
समाजमा जुवा तथा तास खेल्ने गतिविधिहरूले नकारात्मक असर पारिरहेको भन्दै मरिमराउ लगायतका क्षेत्रमा यसलाई क्रमशः निरुत्साहित गर्दै जानुपर्नेमा सबै सहभागीले जोड दिए। अनावश्यक ध्वनि प्रदूषणलाई कम गर्न पनि चेतना फैलाउने पहल नगरपालिकाले अघि बढाउने छ।
चाडपर्वका समयमा बजार अनुगमनलाई प्रभावकारी बनाउन विशेष ध्यान दिनुपर्नेमा पनि छलफल भएको थियो। सहभागीहरूले नगरभित्र शान्ति सुरक्षाको लागि प्रहरी प्रशासनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
यो छलफलले चाडपर्वको समयमा लेटाङ नगरपालिकामा सुरक्षित, व्यवस्थित, र शान्तिपूर्ण वातावरण कायम गर्न महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०२४-०९-२५ , समय : १८:२६:१० , ३ महिना अगाडि