टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गर्ने युवा धरौटीमा रिहा

ईनेपालपत्र , ९२  पटक हेरिएको

काठमाडौँ, १५ भदाै। प्रधानमन्त्री केपी शर्मा ओली तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका तीन युवा धरौटी बुझाएर रिहा भएका छन् ।

सुर्खेतका गोपीकृष्ण जैसी, कञ्चनपुरका दीपक ठगुन्ना र अछामका रामबहादुर बुढा शुक्रबार ९-९ हजार धरौटी बुझाएर रिहा भएका हुन् । उनीहरूविरुद्ध प्रहरीले शुक्रबार नै सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा दायर गरेको छ ।

रिहाका लागि चौतर्फी दबाबका बाबजुद जिल्ला प्रहरी परिसर, काठमाडौंले एक वर्षसम्म कैद सजाय माग गरी सरकारी वकिल कार्यालयमार्फत मुद्दा अगाडि बढाएको छ । उनीहरूलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गरेको हो ।

यहि भदौ १० गते टुँडिखेलमा आयोजित गौरापर्वको कार्यक्रममा पुगेका प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाविरुद्ध उनीहरूले नाराबाजी गरेको आरोप छ । जुन घटनाप्रति ओली र देउवाले मञ्चबाटै असन्तुष्टि व्यक्त गर्दै आक्रामक भएका थिए ।

प्रकाशित मिति: २०२४-०८-३१ , समय : ०९:२६:०८ , ४ महिना अगाडि