ईनेपालपत्र , १४४ पटक हेरिएको
लेटाङ, १० भदाै । लेटाङ-३, मोरङमा आज लेटाङ एडभान्स हेल्थ केयर सेन्टर, फिजियोथेरापी क्लिनिकको उद्घाटन सम्पन्न भएको छ। लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र कुमार लावतीले क्लिनिकको औपचारिक उद्घाटन गरेका हुन्।
समारोहमा प्रमुख लावतीले स्वास्थ्य सेवाको पहुँचलाई अझ प्रभावकारी बनाउन यस क्लिनिकको स्थापना महत्वपूर्ण कदम भएको बताए। उनले लेटाङ क्षेत्रका नागरिकहरूलाई फिजियोथेरापी सेवाको अभाव अब समाप्त हुने र यसले समुदायमा स्वास्थ्य सुधारमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
लेटाङ एडभान्स हेल्थ केयर सेन्टरले विभिन्न शारीरिक समस्याहरू जस्तै नशा च्यापिनु, ढाड र गर्दनको दुखाई, प्यारालाईसिस, घुँडा र जोर्नीका समस्याहरू, तथा दुर्घटनापछिको रिहाब सेवा प्रदान गर्नेछ। क्लिनिकमा TENS, Laser, Ultrasound तथा Manual Therapy जस्ता अत्याधुनिक उपकरणहरूको प्रयोगबाट उपचार गरिने जानकारी पनि कार्यक्रममा दिइयो।
यस क्लिनिकको सञ्चालनले लेटाङ नगरपालिका र आसपासका क्षेत्रका बासिन्दाहरूलाई विशेष रूपमा लाभ पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममा स्थानीय बासिन्दाहरू, स्वास्थ्यकर्मीहरू, र विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो।
प्रकाशित मिति: २०२४-०८-२६ , समय : १६:४८:५३ , ४ महिना अगाडि