मिक्लाजुङ गाउँपालिका द्वारा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान

इनेपालपत्र , १६४  पटक हेरिएको

मोरङ, २४ असार। मिक्लाजुङ गाउँपालिकाले सोमबार माध्यमिक शिक्षा परीक्षा (SEE) २०८० मा उत्कृष्ट नतिजा हासिल गर्ने २२ जना विद्यार्थीहरूलाई सम्मान गरेको छ। एक विशेष कार्यक्रमको आयोजना गर्दै, पालिकाले सामुदायिक र निजी विद्यालयका विद्यार्थीहरूलाई नगद पुरस्कार र प्रशंसा पत्र प्रदान गर्यो। कार्यक्रममा विद्यार्थीहरूका अभिभावकहरू समेत सहभागी थिए।
यस वर्ष मिक्लाजुङ गाउँपालिकाका ११ जना निजी विद्यालय र ११ जना सामुदायिक विद्यालयका विद्यार्थीहरू सम्मानित भएका छन्। सामुदायिक विद्यालयतर्फ सरस्वती मावि र टाँडी माविले उत्कृष्ट नतिजा हासिल गरेका छन् भने निजी विद्यालयतर्फ रिलायन्स मावि र क्लासिकल माविले २/२ जना (ए प्लस) सहित सबै विद्यार्थी पास गराएका छन्।
कालिका माविले सबैभन्दा धेरै विद्यार्थी पास गराउन सफल भएको छ। मिक्लाजुङका यस वर्ष SEE मा सहभागी जम्मा ५१० विद्यार्थीमध्ये २७४ विद्यार्थी पास भएका छन्। ३.२ जीपीए भन्दा माथि ल्याउने विद्यार्थीहरूको संख्या ८६ रहेको छ भने ३.३९ भन्दा माथि जीपीए ल्याउने विद्यार्थीहरूको संख्या २२ रहेको छ।
सर्वश्रेष्ठ नतिजा ल्याउने सामुदायिक विद्यालयतर्फ भगवती मावि उत्कृष्ट रह्यो। यस विद्यालयका आरती दर्नाल र आरती लिम्बूले क्रमशः प्रथम र द्वितीय र प्रकृती भट्टराईले तृतीय स्थान प्राप्त गरेका छन्। निजी विद्यालयतर्फ रिलायन्सका रिपल गोले, क्लासिकलका विवेक निरौला प्रथम र शिशिर भण्डारीले द्वितीय स्थान प्राप्त गरेका छन्।
कार्यक्रमको प्रमुख उद्देश्य विद्यार्थीहरूलाई प्रोत्साहन गर्नु थियो। कार्यक्रमको स्वागत मन्तव्य मदर मधुमल्लाका प्रिन्सिपल विष्णु कुमारी गुरुङले राख्नुभयो। पालिका अध्यक्ष बबि कुमार राई र उपाध्यक्ष दिनेश पौडेलले सम्मान वितरण गरे।
शिक्षा शाखा प्रमुख काशीनाथ खनालले कक्षा ११/१२ कक्षाको पढाईमा लक्ष्य निर्धारण गरेर विषय रोज्नुपर्ने कुरा बताए। यस वर्ष SEE मा सहभागी भइ उत्रिण विद्यार्थीहरुलाई लगन र मेहेनतका साथ उच्च शिक्षा अध्ययनका लागी अगाडी बढ्न कालिका माविका प्रअ मात्रिका प्रसाद न्यौपानेले सुझाब दिए। उपाध्यक्ष पौडेलले मिक्लाजुङले मोरङ जिल्लाकै उत्कृष्ट रिजल्ट निकालेकोमा खुशी व्यक्त गर्दै विद्यार्थीहरुलाई मेहनतमा कमी नराख्न सुझाव दिए।
कार्यक्रममा सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूको उपस्थिति थियो। सहभागी विद्यार्थीहरूले यस सम्मान कार्यक्रमले आफूहरूलाई थप उत्साहित र प्रेरित गरेको बताएका थिए।

प्रकाशित मिति: २०२४-०७-०८ , समय : १९:०७:२६ , ६ महिना अगाडि