केराबारीमा अस्वस्थकर माछाको विक्री, सावधानी अपनाउन आवश्यक

प्रशान्त निराैला , १००  पटक हेरिएको

केराबारी, १९ असार । विराटनगर तथा सीमा नाकाबाट अवैध रुपमा भित्रिने अस्वस्थकर माछा मोर केराबारीको मंगलबार हटियामा विक्री भइरहेको छ। सावधानी अपनाउन सम्बन्धित निकायले अपिल गरेको छ।

विशेषज्ञहरूका अनुसार, माछालाई लामो समयसम्म ताजा राख्न २ देखि ८ डिग्री सेल्सियस तापक्रम चाहिन्छ। यस तापक्रम मिलाउन फर्मालिनको प्रयोग गरिन्छ, तर यो मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ। फर्मालिन प्रयोग गरिएको माछा उपभोग गर्दा पेट दुख्ने, वान्ता हुने, र अत्यधिक फर्मालिन प्रयोगले मानिसलाई कोमामा पुर्याउने र मृत्यु समेत हुनसक्छ।

विराटनगरबाट आएका एक व्यापारीका अनुसार, विराटनगरमा विक्री गर्न नपाएर, उनीहरू केराबारीसम्म आएर प्रतिबन्धित मुंग्री लगायत विभिन्न जातका अस्वस्थकर माछा विक्री गरिरहेका छन्। यसले गर्दा विरामी पर्ने सम्भावना बढेको छ।

केराबारी गाउँपालिका अगाडि तथा मच्छिन्द्र चोक आसपासका सडक पेटीमा विक्री भइरहेका माछाहरू अस्वस्थकर रहेको स्रोतले बताएको छ। यस अवस्थालाई मध्यनजर गर्दै सम्बन्धित निकायले अनुगमन गर्ने व्यवस्था मिलाउन आवश्यक भएको छ।

स्रोतहरूले बताएअनुसार, यो समस्या समाधानका लागि कडाईका साथ अनुगमन र नियन्त्रण आवश्यक छ। सर्वसाधारणले पनि अस्वस्थकर माछाको पहिचान गरी स्वास्थ्यलाई हानि पुग्न नदिन सतर्क रहनु जरुरी छ।

प्रकाशित मिति: २०२४-०७-०३ , समय : १९:१२:०९ , ६ महिना अगाडि