होक्लाबारीमा अस्थायी प्रहरी चौकी स्थापनापछि सुरक्षा व्यवस्थामा सुधार: स्थायी बनाउन स्थानीयको माग

राजकुमारी तामाङ , ८२  पटक हेरिएको

कानेपोखरी, १९ असार । मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारीमा अस्थायी प्रहरी चौकीको उद्घाटन २०८१ साल जेठ ३२ गते भएको थियो। स्थापनाको १९ दिनपछि मंगलबार त्यहाँका नागरिक र प्रहरीबीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
अन्तर्क्रियामा प्रमुखतया प्रहरी चौकी स्थापना पश्चात भएका परिवर्तन र स्थानीय जनतामा भएको प्रभावबारे छलफल भयो। कार्यक्रममा सहभागी स्थानीयहरूले प्रहरी चौकी स्थापना भएपछि लागुपदार्थ, मादकपदार्थ, चोरीडकैती जस्ता घटनाहरू कम भई शान्तिको महसुस गरेको बताए। उनीहरूले अस्थायी प्रहरी चौकीलाई स्थायी बनाउनका लागि पहल गरिदिन माग पनि गरे।
गाउँपालिका अध्यक्ष राजमती इङ्नामले अस्थायी प्रहरी चौकीलाई स्थायी बनाउन र आफ्नै स्वामित्वमा भवन निर्माण गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै, उहाँले सबैसँग सहयोगको अपिल पनि गर्नुभयो।
यो छलफलले प्रहरी चौकीको स्थायीत्व र प्रभावकारिताबारे स्थानीयहरूको धारणा स्पष्ट पारेको छ र स्थानिय सुरक्षा व्यवस्था सुदृढ बनाउनका लागि यो महत्वपूर्ण कदम सावित भएको छ।

प्रकाशित मिति: २०२४-०७-०३ , समय : ०६:५५:५२ , ६ महिना अगाडि