प्रशान्त निराैला , १०४ पटक हेरिएको
लेटाङ, (मोरङ)१६ असार । आज लेटाङ नगरपालिकाको सभाहलमा सुरक्षा अवस्थाको समिक्षा र भविष्य रणनीतिबारे विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यसले नगर क्षेत्रको समग्र सुरक्षा अवस्थालाई समीक्षा गर्दै आगामी रणनीतिहरू तय गर्न महत्वपूर्ण अवसर प्रदान ग¥यो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक भिम ढकालले ग्रामीण क्षेत्रमा सुरक्षा चुनौतीहरूलाई प्राथमिकता दिनुपर्ने बताए। उनले लेटाङलाई पर्यटकीय हबको रूपमा विकास गर्न सकिने र प्रहरीको पूर्ण सहयोग रहने आश्वासन दिए। अपराधिक घटनाहरूमा वृद्धि भएकोमा चिन्ता व्यक्त गर्दै, घरपरिवारबाट नै सुरक्षामा योगदान दिनुपर्नेमा जोड दिए।
पूर्व नगरप्रमुख शंकर राईले समाजलाई शान्ति सुरक्षा प्रदान गर्न शिक्षा र खेलकुदलाई प्राथमिकता दिनु आवश्यक रहेको बताए । उनले वारंगी, भोगटेनी, केराबारीजस्ता पहाडी क्षेत्रमा सुरक्षा व्यवस्थापनको खाँचो रहेको बताए।
नगरप्रमुख भुपेन्द्र कुमार लावतीले सुरक्षाको विषयमा उच्च पदस्थ अधिकारीहरूको सहभागिताले नगरवासीलाई सन्तुष्टि मिलेको बताए। उनले लागुऔषधको व्यापक प्रयोग र यसले समाजमा पारेको नकारात्मक असरबारे गम्भीर चिन्ता व्यक्त गरे।
कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक भिमबहादुर दाहालले लागुऔषधको समस्या समाधान गर्न विद्यालय र कलेजहरूले विशेष ध्यान दिनुपर्नेमा जोड दिए। उनले आमा समूहको माध्यमबाट दुर्ब्यसनविरुद्ध कार्यक्रम सञ्चालन गर्ने योजनाबारे जानकारी गराए।
उपप्रमुख कृष्णकुमारी निरौलालेसुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्दै, सामुदायिक सहभागिता आवश्यक रहेको र यसका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गरिन् ।
लेटाङ नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत नारायण न्यौपानेले नगरको समग्र परिचय सहितको प्रस्तुती गरेका थिए ।
कार्यक्रवाट लेटाङ नगरको सुरक्षा व्यवस्थापनलाई अझ मजबुत बनाउने उद्देश्यले विभिन्न सुझावहरू प्राप्त ग¥यो । नगरका सामाजिक अगुवाहरुले कार्यक्रममा सहभगिता जनाएका थिए ।
प्रकाशित मिति: २०२४-०६-३० , समय : १८:००:५० , ६ महिना अगाडि