इनेपालपत्र , ११० पटक हेरिएको
बिराटनगर, ७ चैत । इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेकपा एमाले कोशी प्रदेश कमिटीले ६ जना उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश कमिटी बैठकले स्वर्गीय एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङसहित ६ जनाको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो ।
नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जिल्लाबाट आएका आकांक्षीहरु मध्येबाट ६ जनाको नाम केन्द्रमा पठाउने निर्णय भएको बताए । उनका अनुसार सोही क्षेत्रबाट निर्वाचित स्वर्गीय नेता नेम्वाङका छोरा सुहाङ, एमाले नेता बुद्धि खनाल,रविन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई, देवी दुलाल लगायत छन् ।
प्रदेशबाट सिफारिस भएको नामका आधारमा केन्द्रले उम्मेदवारको टुङ्गो लगाउने उनले बताए । इलाम क्षेत्र नम्बर २ मा १५ बैशाखमा उपनिर्वाचन हुँदैछ ।
सोही निर्वाचनलाई लक्षित गरेर प्रदेश कमिटी बैठकले इलामसँग सीमा जोडिएका जिल्लाहरुबाट निर्वाचनका लागि सहयोग गर्ने निर्णय पनि भएको उनले बताए । एमालेले नै जितेको क्षेत्र भएका कारण गठबन्धन दलले पनि एमालेलाई नै सहयोग गर्ने भएका कारण निर्वाचन जित्नेगरी तयारी गर्ने निर्णय भएको उनले बताए ।
बैठकले कोशी प्रदेश सरकार परिर्वातनका लागि पनि पहल गर्ने निर्णय गरेको खतिवडाले बताए ।
प्रकाशित मिति: २०२४-०३-२० , समय : ११:५२:१० , १० महिना अगाडि