आसाम डाउन टाउन युनिभर्सिटि र सुकुना क्याम्पस बिच सहजिकरण

इनेपालपत्र , ११८  पटक हेरिएको

विराटचाैक, ७ चैत । सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचा‚ मोरङ र आसाम डाउन टाउन युनिभर्सिटि‚ गुवाहाटी‚ भारतका बिच कक्षा सहजीकरण कार्यक्रम सम्पन्न भएको छ ।
गत वर्ष दुबै शैक्षिक संस्थाहरूले विद्यार्थी तथा शिक्षकहरूका अनुभव आदान प्रदान‚ सहकार्यात्मक अनुसन्धान‚ संयुक्त गोष्ठि‚ सेमिनार‚ कार्यशाला एवम् शैक्षणिक तथा परियोजनात्मक कार्य‚ छात्रवृत्ति तथा प्राज्ञिक क्रियाकलापहरू एक आपसमा मिलेर सञ्चालन गर्ने र अन्तर्राष्ट्रिय सम्बन्ध कायम राख्ने गरी भएको द्विपक्षीय सम्झौताअनुसार पहिलो चरणमा उक्त विश्वविद्यालका सहप्राध्यापक डा। विशाल भुईँयानले सुकुना बहुमुखी क्याम्पसमा फागुन २९ गते देखि चैत्र ५ गतेसम्म ७ दिनका लागि उक्त विषयहरूमा सहजीकरण कार्य सम्पन्न गरेका छन् । यस अवधिमा भुईँयानले एमबिएस‚ बिबिएस र बिबिएका सबै कक्षाहरू विद्यार्थी तथा शिक्षकहरूलाई शिक्षण सिकाइ‚ शैक्षणिक विधि‚ शिक्षणमा प्रविधिको प्रयोग‚ मूल्याङ्कनका नविनतम विधिहरू‚ ज्ञानको विश्वबजारीकरणका उपाय‚ पठन तथा लेखन एवम् प्रकाशन संस्कृतिका विषयमा विश्वविद्यालयका अनुभव र प्रयोगका विषयमा सहजीकरण गरेका छन् ।
सहजीकरणका क्रममा क्याम्पसको अनुसन्धान व्यवस्थापन एकाइ र आसाम डाउन टाउन युनिभर्सिटिले मिलेर गर्न सकिने अनुसन्धान तथा प्रकाशनका क्षेत्रहरूका विषयमा गहनतम छलफल गरिएको र यसबाट क्याम्पसले अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठनाहरू सँग पहुँच विस्तार गरी विद्यार्थीहरूलाई ती अनुसन्धानमा जोड्न सकिने अवस्था सिर्जना भएको जानकारी सहायक क्याम्पस प्रमुख एवम् अनुसन्धान एकाइ प्रमुख गणेशप्रसाद दहालले जानकारी गराएका छन् ।
यसरी विदेशी गेष्ट लेक्चररबाट कक्षा सहजीकरण कार्य गराउँदा शिक्षक र विद्यार्थीका बिचमा रहेका कतिपय विषयबस्तुहरूमा देखिने ज्ञानको खाडल पूरा गर्न सहयोग पुगेको र डा। भुईँयानको अथाहा ज्ञानको भण्डारबाट क्याम्पसले भरपुर फाइदा लिन सकेको विचार अर्का सहायक क्याम्पस प्रमुख बलराम पोखरेलले बताएका छन् । विदेशी विज्ञबाट गेष्ट लेक्चररका रुपमा कक्षा लिँदा विद्यार्थीहरू खुशी र उत्साहि भएको जानकारी बिबिए डाइरेक्टर शङ्कर देवानले गराएका छन् । विदेशी विश्वविद्यालयका अनुभव सुन्दा र उनीहरूको समर्पण तथा शिक्षण कौशल हेर्दा शिक्षक तथा विद्यार्थीहरूले नौलो र रमाइलो अनुभुति भएको जानकारी व्यवस्थापन वभागका विभागीय प्रमुख उमेश उप्रेतीले गराएका छन् ।
सोमबार विहान क्यापस सञ्चालक समिति‚ लेखा तथा पुनरावेदन समिति‚ सहायक क्याम्पस प्रमुखहरु र विभागीय प्रमुखहरूको उपस्थितिमा क्याम्पसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मामिला विभागद्वारा आयोजना गरिएको विदाइ कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष केशव अधिकारी र क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले विदेशी विश्वविद्यालयका विज्ञ डा। भुईँयानलाई माला‚ खादा‚ नेपाली टोपि लगाएर कदर तथा प्रशंसापत्र र मायाको चिनोसहित विदाइ गरिएको थियो ।
विदाइ ग्रण गर्दै डा। भुईँयानले क्याम्पसको भौतिक‚ प्राज्ञिक र सामुहिक क्रियाकलाप हेर्दा सुकुना क्याम्पस कुनै विश्वविद्यालयभन्दा कम नरहेकोमा सन्तोष व्यक्त गर्दै छिटै अर्को टोलि लिएर आउने प्रतिवद्धता जाहेर गरेका छन् । सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले विदाइ मन्तव्य राख्दै क्याम्पसले पनि आफ्नो विज्ञ टोलीलाई अनुभव आदान प्रदानका लागि आसाम डाउन टाउन पठाउने विचार राख्दै अतिथि डा। भुईँयान र आसाम डाउन टाउन युनिभर्सिटि‚ गुवाहाटि‚ भारतलाई धन्यवाद ज्ञापन गरेका छन् । डा। भुईँयानले क्याम्पसमा आएर सहजीकरण गरेर आफूले धेरै विषयबस्तुहरू सिक्न पाएकोमा क्याम्पस प्रमुखले खुशी व्यक्त गर्दै अव क्याम्पसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सम्बन्ध विस्तार गर्दै जाने र यसका कार्यमा विज्ञका रुपमा डा। भुईँयानले पुर्याउनु भएको योगदानका लागि धन्यवाद ज्ञापन गरेका छन् । उक्त विदाइ कार्यक्रमको सञ्चालन सञ्चालन गर्दै क्याम्पसका अधिकृत नवराज कोइरालाले यहि हप्तामा क्याम्पस र बङ्गलादेशको युनिभर्सिटि अफ इन्फरमेसन टेक्नोलोजी एण्ड साइन्सेजको संयुक्त बैठक बस्ने जानकारी दिएका छन् । उक्त विदाइ कार्यक्रम सहजीकरण शिक्षणसहायक उषाकिरण वाग्लेले गरेकि थिइन् ।

प्रकाशित मिति: २०२४-०३-२० , समय : ०९:०९:०३ , १० महिना अगाडि