अभिषेक पौडेल , ३०१ पटक हेरिएको
लेटाङ, ४ साउन । आज देखि सुरु भएको नेवारी समुदायको परम्परागत जात्रा (नाच) लाखे लेटाङमा समेत सुरु भएको छ । हरेक वर्ष निकालिने लाखे नाच यस वर्ष पनि आजबाट नेवा दे दबु लेटाङले निकालेका हो । बिपि चौक तथा आसपासमा उक्त जात्रा घुमाईएको थियो । जात्र अब निरन्तर चलेर कृष्णजन्मास्टमिको भोलिपल्ट समापन हुने लेटाङ ४ का वडा अध्यक्ष राम श्रेष्ठले जानकारी दिनुभयो ।
लाखे पर्वका अवसरमा एक महिनासम्म गाईजात्रा, रोपाईं जात्रा, कृष्णजन्माष्टमीको जात्रा लगायतका बिभिन्न जात्राहरु देखाउने चलन छ । यो पर्व नेवार समाजमा परापुर्वकाल देखिनै मनाइँदै आएको पर्व हो । विशेष गरी नेवार समुदायले मनाउने यो जात्रा मृत्यु संस्कार मध्येको एक पर्व हो ।
यो समुदायमा एक वर्षभित्र दिवंगत आफन्तहरूको सम्झनामा गाई वा मानिसलाई गाईको भेषमा सिँगारी बजार परिक्रमा गर्ने गरिन्छ । उनीहरूलाई श्रद्धालुहरूले दुध, फलफुल, चिउरा, रोटी, दहीलगायत अन्न र द्रव्य दान गर्ने चलन चलिआएको छ । यसरी बजार परिक्रममा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई बैतरणी पार हुन्छ भन्ने धार्मिक विश्वास छ । वर्षभरि दिवांगत भएकाहरुको सम्झनामा गाइजात्रा निकाल्ने समेत चलन छ । संस्कृती र परम्परा लोप हुँदै गएको भन्दै संस्कृति र परम्परा संरक्षणमा स्थानीय नेवार समुदायका युवाहरू जुटेका हुन् । स्थानीय युवाहरू संस्कृति र परम्परा संरक्षणको अभियान स्वरूप लाखे जात्रा प्रदर्शनमा जुटेको नेवा दे दबु लेटाङका अध्यक्ष सुनिल श्रेष्ठले बताउनुभयो ।
लाखेनाच अर्थात विभिन्न नाम दिईएका जात्रामा ढोल, झ्याम्टा बजाउँदै, ठाकठुके नाच, रोपाइँ नाच, विभिन्न हास्यव्यंग्यात्मक कार्यक्रम, जातीय संस्कृति र परम्पराअनुसारको नाच प्रदर्शन गर्दै बजारको परिक्रमा गर्ने चलन छ ।
श्रावण चर्तुदशीका दिनबाट सुरु भएको लाखे पर्व कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णले कंशलाई नाश गरेको दिनमा सकिन्छ ।
Photo: HK King
प्रकाशित मिति: २०२३-०८-२१ , समय : १७:५०:०३ , १ वर्ष अगाडि