लागूपदार्थ दुब्र्यसनीमा संलग्नहरु धमाधम पक्राउ हुदैँ

हाम्रो समाचारदाता , १८८  पटक हेरिएको

लेटाङ, १८ असार । लेटाङमा लागुपदार्थ दुव्र्यसनीका घट्ना बढिरहेको वेला यसको नियन्त्रणका लागि प्रहरीले अपरेशन सुरु गरेको छ ।
लागुऔषध वेचविखन तथा दुव्र्यसनीमा फसेकोहरु बढिरहेको सुचना प्रहरीले पाएपछी अपरेशन सुरु गरिएको ईलाका प्रहरी कार्यालय लेटाङका प्रमुख प्रहरी निरिक्षक विकास थपलियाले जानकारी दिनुभयो ।

शनिबार मात्र इलाका प्रहरी कार्यालय लेटाङले लागुपदार्थसँग मिसाएर प्रयोग गरिने प्रतिवन्धित औषधि सहित संलग्न १ व्यक्तिलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीको विशेष टोलीले लेटाङ नगरपालिका–३ का २ ठाउँबाट प्रतिबन्धित औषधि बरामद गर्नुका साथै एक व्यक्तिलाई पक्राउ गरेको हो ।

बिना इजाजत प्रतिबन्धित औषधि लुकाएर संचय गरि घरमा राख्ने लेटाङ–३ का तेजनकुमार राईलाई प्रतिवन्धित औषधिसहित पक्राउ गरेको ईलाका प्रहरी कार्यलय लेटाङ प्रहरी प्रमुख थपलियाले जानकारी दिनुभयो । राईको घरमा खानतलासी गर्दा संचय गरेर राखिएको ट्रामाडोल २ सय ६६ चक्की र स्पासपेन १ सय ८० चक्की बरामद गरिएको थपलियाले बताउनुभयो । अवैध प्रतिबन्धित औषधि लुकाएर राखेको विशेष सूचनाका आधारमा लेटाङ प्रहरीले राईको घरमा छापा मारेको थियो ।

यसैगरी लेटाङ–३ का श्यामकुमार लिम्बूको घरबाट पनि प्रहरीले प्रतिबन्धित औषधि बरामद गरेको छ । प्रहरीका अनुसार घरमा खानतलासी गर्दा लुकाएर राखेको अवस्थामा स्पासपेन ५ सय ३२ चक्की,ट्रामाडोल २०० चक्की बरामद गरिएको हो । लिम्बू भने फरार रहेकाले खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

असार १३ गते समेत प्रहरीले लागुपदार्थ दुव्र्यसनीमा लागेका लेटाङ नगरपालिका ३ बस्ने श्याम माखिम लिम्बुलाई समेत पक्राउ गरिएको थियो ।

 

प्रतिबन्धित औषधि मिसाएर लागूऔषधका रूपमा प्रयोग गर्ने गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । लागूऔषधका दुर्व्यसनीले ट्रामाडोल र स्पासपेन मिसाएर लागूऔषधका रूपमा प्रयोग गर्ने गरेको प्रहरीले पत्ता लागाएको हो । गाउँघरमा लागूऔषधको कारोबार र दुव्र्यसनी बढेसँगै नियन्त्रणमा लिन लेटाङ प्रहरीले विशेष अप्रेशन चलाएको छ ।

प्रकाशित मिति: २०२३-०७-०३ , समय : १४:०७:०० , १ वर्ष अगाडि