enepalpatra , ५३३ पटक हेरिएको

पथरीशनिश्चरे ,२१ कात्तिक । मङ्सिर ४ गते हुने निर्वाचन जति जति नजिकिँदै छ , उति नै मोरङ निर्वाचन क्षेत्र नं. ३ मा नेपाली काङ्ग्रेस भित्रको आन्तरिक कलह घट्दै गएको छ । १४ महाधिवेशनमा भएको आन्तरिक निर्वाचनमा पराजित भएका काङ्ग्रेस मनहरू क्रमस जोडिन थालेका हुन् । मोरङ ३ का कांग्रेस उम्मेद्वार डाक्टर सुनील शर्मा फाटेका, उध्रिएका र च्यातिएका मनहरूलाई घर घर पुगेर जोडिरहेका छन् ।
पथरीशनिश्चरे नगरपालिको वडा नं. ८ मा सभापति पदमा पराजित भएका खेमबहादुर खड्का आइतबार स्थानीय सोमबारे बजारमा भएको निर्वाचन अभियान देखि जोडिएका छन् । लामो समय सम्म पार्टीको वडा समिति थामेर बसेका खड्का पुराना कार्यकर्ता हुन् ।आन्तरिक चुनावमा पराजित भएपछि खड्का निष्क्रिय थिए । दल बदलमा नलागि घरमै बसेका खड्कालाई पार्टी नेतृत्वले आन्तरिक निर्वाचनको विषयलाई संसदीय निर्वाचनसँग जोडेर हेर्न नमिल्ने बताएपछि आफ्नो पार्टी कांग्रेसलाई जिताउन उनी अभियानमा निस्केका छन् ।
पथरी बजारमा सोमबार संयुक्त लोकतान्त्रिक वाम गठबन्धनले आयोजना गरेका चुनाबी सभाको उनी पहिलो पंक्तिमा थिए । उनले भने– बैचारिक र सैद्धान्तिक समस्या थिएन । पार्टीका सबै अग्रज नेताहरू आएर अभियानमा लाग्न आग्रह गरेपछि चुनाबी प्रचारमा लागेको हुँ । खड्काले लोकतान्त्रिक पार्टीमा जित हार सामान्य विषय भए पनि पार्टीको आन्तरिक चुनावमा हार्दा दुख लागेको बताए । खड्का मात्र होइन , प्रेस विज्ञप्ति निकालेर असन्तुष्ठि ब्यक्त गर्ने जगतलाल चौधरी पनि गठबन्धन जिताउँ अभियानमा निस्किएका छन् । उनी मोरङ ३(२) का सभापति हुन् । डाक्टर शर्माले आफ्नो निर्वाचन अभियान नै आम कार्यकर्तासँग सार्वजनिक रुपमा माफि मागेरर सुरु गरेका थिए । उनले भनेका छन्– लोकतन्धको सबैभन्दा सुन्दर पक्ष निर्वाचन हो । निर्वाचनमा उठेर हार्दा चित्त, मन दुख्न सक्छ । तर, पार्टी संगठनलाई अप्ठ्यारो पार्नु भनेको पाप हो ।
यता नेपाली कांग्रेस मोरङ क्षेत्र नं.३ का सचिव राजेन्द्रबहादुर अधिकारीले काङ्ग्रेस भएर विगतका निर्वाचनमा हिडेका सबै कार्यकर्ता कात्तिक मसान्त भित्रमा फर्किने बताए । क्षेत्रीय समिति मन दुखाएका साथीहरूसँग हर समय सम्पर्कमा छ । उनले थपे – १२÷१३ लाख क्रियाशील सदस्य रहेको पार्टीमा अलि अलि समस्या त भइहाल्छ नि ।
प्रकाशित मिति: २०२२-११-०७ , समय : १३:३६:४६ , २ वर्ष अगाडि